
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको पोशाक दुरुपयोग गरी सामाजिक सञ्जालमा प्रसारित भिडियो प्रति प्रहरीले आपत्ति जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपालको कम्ब्याट ड्रेसको पाईन्ट लगाई सडक पेटीमा सुतिरहेको व्यक्तिको भिडियो बनाई विभिन्न सामाजिक सञ्जाल मार्फत प्रसारित भइरहेको विषय प्रति सशस्त्र प्रहरी बल, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सशस्त्र प्रहरी नायव उपरीक्षक (सह-प्रवक्ता) शैलेन्द्र थापाद्वारा जारी विज्ञप्तिमा उक्त भिडियो सम्बन्धमा सत्यतथ्य बुझ्दा भिडियोमा देखिएका व्यक्ति सशस्त्र प्रहरी बल, नेपालको सदस्य नभएकोले उल्लेख गरिएको छ ।
भिडियोमा देखिएका व्यक्तिले सशस्त्र प्रहरी बल, नेपालको कम्ब्याटको अर्ध पोशाक लगाई संगठनको पोशाकको दुरुपयोग गरेको पनि जनाएको छ ।
वास्तविकता नबुझी ती व्यक्तिलाई सशस्त्र प्रहरीकै सुरक्षाकर्मीका रूपमा चित्रण गर्दै सामाजिक सञ्जालमा भ्रामक सामग्री तथा टिप्पणीहरू प्रसारण हुँदा आम नागरिकमा भ्रम सिर्जना भएको सोही कारण पोशाक दुरुपयोग गर्ने व्यक्ति र उक्त गतिविधिको भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाउने दुवै पक्षविरुद्ध कानुनी कारबाही थालिएको हो।
तसर्थ भ्रामक भिडियोलाई सशस्त्र प्रहरी बल, नेपालसँग जोडेर नबुझिदिन आम सर्वसाधारण तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा हार्दिक अनुरोध समेत गरेको छ । साथै, असम्बन्धित व्यक्तिले सशस्त्र प्रहरी बल, नेपालको पोशाक, दर्ज्यानी चिह्न वा संगठनको पहिचान झल्किने सामग्री प्रयोग नगर्न र त्यस्ता गतिविधि बारे जानकारी प्राप्त भएमा सशस्त्र प्रहरी बल, नेपालको टोल फ्रि नम्बर १११४ मा सूचना उपलब्ध गराई सहयोग गरिदिन अनुरोध गरेको छ ।