
काठमाडौँ । जारी भएको २८ वर्षपछि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ आजदेखि काठमाडौँ उपत्यकामा औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । पहिलो चरणअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरका २१ वटै स्थानीय तहमा यो ऐन लागू गरिएको हो ।
उपभोक्ताको स्वास्थ्य सुरक्षा र स्वच्छ तथा गुणस्तरीय मासुको उपलब्धता सुनिश्चित गर्न सरकारले गत भदौ १ गते राजपत्रमा सूचना प्रकाशित गरी देशभर तीन चरणमा ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । सोही कार्यतालिकाअनुसार आजदेखि उपत्यकामा ऐन कार्यान्वयनमा ल्याइएको हो ।
ऐन लागू भएसँगै अब उपत्यकामा जथाभाबी पशु वध गर्न र खुला रूपमा मासु बिक्री–वितरण गर्न पाइने छैन । कानुनी व्यवस्थाअनुसार तोकिएको वधशालामा पशु वध गर्नुअघि र वध गरिसकेपछि पशु चिकित्सक तथा प्राविधिकबाट अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्नेछ । परीक्षणबाट खानयोग्य प्रमाणित भई ‘स्वस्थ मासु’ को छाप लगाइएको मासु मात्र बजारमा बिक्री-वितरण गर्न पाइनेछ ।
पशु सेवा विभागका अनुसार आज काठमाडौँको भ्याली कोल्डस्टोर र भक्तपुरस्थित वधशालाबाट मासुमा ‘स्वस्थ’ छाप लगाउने कार्यको औपचारिक शुभारम्भ गरिँदै छ । पहिलो चरणमा समेटिएका उपत्यकाका २१ वटै स्थानीय तहले ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक तयारी तीव्र पारेका छन् ।