
काठमाडौँ । राष्ट्रिय कर दिवस-२०८३ का अवसरमा सरकारले विभिन्न विधामा सबैभन्दा बढी कर योगदान गर्ने करदाता तथा संस्थालाई सम्मान गरेको छ । व्यक्तिगत आयकरतर्फ व्यवसायी राजबहादुर शाह यस वर्ष पनि सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएका छन् ।
आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा उत्कृष्ट करदातालाई सम्मान गरेको हो । अर्थमन्त्री रामेश्वर खनालले सम्मानित व्यक्ति तथा संस्थालाई सम्मानपत्र प्रदान गरेका थिए ।
व्यक्तिगत आयकरतर्फ सम्मानित शाह यसअघि पनि विभिन्न वर्षमा उत्कृष्ट करदाताका रूपमा सम्मानित भइसकेका छन् । उनी २०७७, २०७९, २०८० र २०८२ सालमा व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रूपमा सम्मानित भएका हुन् ।
यस वर्ष संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने निकायका रूपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भएको छ । एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेशनल उत्कृष्ट करदाता बनेको छ ।
विभागले विभिन्न व्यावसायिक क्षेत्रलाई छुट्टाछुट्टै विधामा वर्गीकरण गरी उत्कृष्ट करदाता छनोट गरेको हो । वस्तु उत्पादन तथा निर्माणतर्फ डाबर नेपाल प्रालि, सूचना प्रविधिसम्बन्धी सेवा निर्याततर्फ ओरिक्स नेपाल प्रालि र कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म प्रालि सम्मानित भएका छन् ।
त्यसैगरी बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रतर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र पर्यटन व्यवसायमा सोल्टी होटल लिमिटेड उत्कृष्ट करदाता घोषित भएका छन् ।
वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी र रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायमा आईएमई लिमिटेड सम्मानित भएका छन् ।
वार्षिक ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये सीडीएस एन्ड क्लियरिङ लिमिटेड तथा ५० करोड रुपैयाँसम्म कारोबार गर्ने संस्थामध्ये भीएफ सर्भिसेज प्रालि सम्मानित भएका छन्।
त्यस्तै, २०७६ साउनदेखि २०८२ असार मसान्तसम्म नियमित रूपमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भएको छ । विशेष उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा बरूण वेभरेज नेपाल प्रालिले सम्मान प्राप्त गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बागलुङलाई पनि सम्मान गरिएको छ ।
नेपालमा प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइन्छ । सरकारले २०६९ सालदेखि यो दिवस मनाउन थालेको हो । २०५४ साल मंसिर १ गते नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
कर दिवसका अवसरमा सरकारले करदातालाई करप्रति जिम्मेवार बनाउन र राज्यको राजस्वमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्न उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । कर सप्ताहका रूपमा मनाइने कार्यक्रममा कर सचेतना, कर प्रशासन र निजी क्षेत्रबीच अन्तरक्रिया तथा करदाता सम्मानलगायतका गतिविधि सञ्चालन गरिन्छ ।
आन्तरिक राजस्व विभागले आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कलगायतका आन्तरिक राजस्व संकलनको जिम्मेवारी निर्वाह गर्दै आएको छ । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सार्वजनिक विवरणअनुसार देशमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८० लाख नाघेको छ ।
विभागले गत आर्थिक वर्षमा करिब ६ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षमा ७ खर्ब ७५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म १ खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको विवरण सार्वजनिक गरिएको छ ।
कुल सरकारी राजस्वमा आन्तरिक राजस्व विभागको योगदान करिब ४५ प्रतिशत रहेको विभागका अधिकारीले बताएका छन् । सक्रिय करदातामध्ये ९५ प्रतिशतभन्दा बढीले अनलाइनमार्फत कर विवरण बुझाउने गरेका छन् ।
कर दिवसले करदाता र सरकारबीचको सम्बन्धलाई थप विश्वासिलो बनाउने, करको दायरा विस्तार गर्ने तथा स्वेच्छिक कर सहभागिता बढाउने अपेक्षा गरिएको छ ।