
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्डरवेयरभित्र लुकाएर ल्याइएको ६३५.९६ ग्राम सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । चीनको ग्वाङदोङ स्थायी ठेगाना भएका ४२ वर्षीय झाङ गुओकिङ पक्राउ परेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत काठमाडौं आइपुगेका थिए । उनको गतिविधि शंकास्पद देखिएपछि सुरक्षाकर्मीले निगरानी गरी चेकजाँच गरेका थिए ।
सोही क्रममा उनले लगाएको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइछिपाइ राखेको अवस्थामा सुनजस्तो देखिने पहेँलो रङको अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थको कुल तौल ६३५.९६ ग्राम रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार भन्सार छली गरी अवैध रूपमा ल्याउन खोजिएको अवस्थामा उक्त पदार्थ बरामद गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।