पानी पर्न रोकिएसँगै बढ्न थाल्यो वायु प्रदूषण, फोहोर नजलाउन र सवारीसाधनको मर्मत गर्न मौसमविद्को आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौँ । पानी पर्न रोकिएसँगै देशका विभिन्न स्थानमा वायु प्रदूषण बढ्न थालेको छ । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा मौसमविद् विनोद पोखरेलले पानी पर्न रोकिएपछि वायु प्रदूषण बढ्दै गएको बताएका छन् ।

उनका अनुसार वायु प्रदूषण बढ्ने मौसम सुरु भइसकेको छ । त्यसमाथि उत्तरपश्चिम भारतका विभिन्न क्षेत्रमा पराल जलाउँदा निस्कने धुवाँ नेपालतर्फ पनि भित्रिन थालेको आशंका गरिएको छ । यसको प्रभावले हावामा थप धुवाँ मिसिँदा तराईका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेको देखिएको छ भने काठमाडौँको हावा पनि तीव्र गतिमा दूषित हुँदै गएको छ ।

आगामी दिनमा वायु प्रदूषण अझ बढ्न सक्ने भएकाले स्थानीय प्रदूषणका स्रोत नियन्त्रणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । विशेषगरी फोहोर जलाउने तथा अत्यधिक धुवाँ उत्सर्जन गर्ने सवारीसाधनले वायु प्रदूषण थप बढाउन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ ।

भारतबाट आउने धुवाँका साथै नेपालभित्रैका प्रदूषणका स्रोतले पनि हावाको गुणस्तर बिगार्न सक्ने भएकाले नियन्त्रणका उपाय अपनाउनुपर्ने देखिएको छ ।

सबै प्रकारका वायु प्रदूषण नियन्त्रण गर्न नसकिए पनि व्यक्तिगत प्रयासबाट प्रदूषण थपिनबाट रोक्न सकिने पोखरेलको भनाइ छ । वायु प्रदूषण कम गर्न फोहोर नजलाउने, सवारीसाधनको नियमित मर्मतसम्भार गर्ने तथा आफ्नो क्षेत्रको वायु गुणस्तरबारे जानकारी राख्ने जस्ता उपाय अपनाउन सकिन्छ । हावालाई स्वच्छ राख्न सरकारी प्रयाससँगै नागरिकको भूमिका पनि महत्त्वपूर्ण हुने मौसमविद् पोखरेलको सुझाव छ।

वायु प्रदूषण कम गर्न अरूलाई पनि यसबारे सचेत गराउन उनले अनुरोध गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस