
एजेन्सी- प्राचीन इतिहासका अधुरा र क्षतिग्रस्त दस्तावेजहरूलाई पूर्णता दिन वैज्ञानिकहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। अस्ट्रियन एकेडेमी अफ साइन्सेजले युरोपेली एआई कम्पनीहरू ‘मिस्ट्रल एआई’ र ‘सेल रिप्लाई’ सँगको सहकार्यमा प्राचीन ग्रीक भाषाका लागि समर्पित विश्वको पहिलो ‘लार्ज ल्याङ्ग्वेज मोडेल’ विकास गरेको हो।
सेप्टेम्बर २३, २०२६ मा सार्वजनिक गरिएको र कला, ज्ञान तथा भविष्यवाणीका प्राचीन ग्रीक देवताको नामबाट ‘अपोलो’ नामाकरण गरिएको यो प्रविधि करिब ४ लाख युरोको लगानीमा तयार भएको हो। करिब ६० करोड प्राचीन ग्रीक शब्दहरूमा तालिम दिइएको अपोलोले शताब्दीयौंदेखि अपूर्ण रहेका ऐतिहासिक ग्रन्थ, शिलालेख र कागजातका बचेका अंशहरूको विश्लेषण गरी हराएका शब्द, वाक्य र लामा खण्डहरूको सम्भावित पुनर्निर्माण केही सेकेन्डमै गरिदिन्छ। अस्ट्रियन एकेडेमी अफ साइन्सेजको स्वामित्वमा रहेको यो प्रणालीको पहिलो संस्करण हाल अनुसन्धानकर्ता र सर्वसाधारणका लागि निःशुल्क (ओपन-एक्सेस) उपलब्ध गराइएको छ।
विश्वभरका संग्रहालय र पुस्तकालयहरूमा लाखौं प्राचीन शिलालेख र १० लाखभन्दा बढी प्यापाइरस (प्राचीन कालमा लेख्न प्रयोग गरिने एक प्रकारको कागज) का टुक्राहरू सुरक्षित छन्। तर, तीमध्ये धेरैजसो च्यातिएका, जलेका वा नबुझिने अवस्थामा रहेकाले अझै ९२ प्रतिशत प्यापाइरसहरूको अर्थ खुलाउन (डिसिफर गर्न) बाँकी नै छ।
परम्परागत रूपमा यस्ता दस्तावेजहरू जोड्न अनुभवी विद्वानहरूलाई समेत निकै लामो समय लाग्ने गर्थ्यो। सामान्य च्याटबटभन्दा भिन्न, विशेष रूपमा प्राचीन ग्रीक भाषाका लागि बनाइएको अपोलोले ऐतिहासिक ग्रन्थहरूको शब्दावली, व्याकरण र शैली ठम्याएर तुरुन्तै मिल्दोजुल्दो पाठ सुझाव दिन्छ।

आधुनिक एआईको तुलनामा सानो डेटासेटमा प्रशिक्षित भए पनि, प्यापाइरसका मौलिक ग्रन्थहरूका केही अंश जानीजानी लुकाएर गरिएको परीक्षणमा अपोलोले करिब ८० प्रतिशत हराएका सामग्री हुबहु मिलाउन सफल भएको बताइएको छ। अन्तर्राष्ट्रिय विज्ञहरू संलग्न गोप्य मूल्याङ्कन (ब्लाइन्ड स्टडी) मा समेत विज्ञहरूले ७७ प्रतिशत अवस्थामा अपोलोको सुझावलाई मानव विद्वानहरूले गरेको कामसरह र १६ देखि २० प्रतिशत अवस्थामा अझ उत्कृष्ट ठहर गरेका छन्।
अस्ट्रियन एकेडेमी अफ साइन्सेजअन्तर्गतको अस्ट्रियन आर्कियोलोजिकल इन्स्टिच्युटकी अनुसन्धानकर्ता अन्ना डोल्गानोभको नेतृत्वमा विकसित अपोलोको अर्को ठूलो विशेषता समयअनुसार फेरिएको ग्रीक भाषाको शैली पहिचान गर्नु हो। यसले महाकवि होमरको ‘ओडिसी’ जस्ता प्राचीन काव्यको शैली र रोमन शासनकालमा लेखिएका प्रशासनिक दस्तावेजहरूको भाषिक भिन्नता सजिलै छुट्याउन सक्छ।
परियोजनाको प्रस्तुतीकरणका क्रममा डोल्गानोभले तीनवटा ऐतिहासिक उदाहरणमार्फत यसको क्षमता प्रदर्शन गरेकी हुन् । पहिलो ईस्वी संवत् १४९ को रोमन इजिप्टको एक जन्म घोषणापत्रको हराएको भाग पुनर्निर्माण गर्नु रहेको थियो भने दोस्रो, ईस्वी संवत् ७९ मा माउन्ट भेसुभियस ज्वालामुखी विस्फोटमा पोम्पेई र हर्कुलानियम सहरसँगै जलेर कोइला बनेको प्राचीन स्क्रोलको पाठ पुनर्जीवित गर्ने काम रहेको थियो। यसैगरि, ब्ल्याक सी क्षेत्रको एक खण्डित शिलालेखको पुनर्निर्माण पनि जाँच गरिएको थियो। ब्ल्याक सीको शिलालेख जोडिँदा त्यहाँ रोमन कानुन लागू भइसकेको र वेश्यावृत्तिमा समेत कर लगाइने गरेको जस्ता नयाँ ऐतिहासिक प्रमाणहरू पुष्टि भएका छन्।
प्रसिद्ध साहित्यिक कृतिहरूमा धेरै अध्ययन भए पनि प्राचीन कालका सर्वसाधारणको दैनिक जीवन, व्यापार, रोजगारी र सामाजिक सम्बन्ध झल्काउने हजारौं करका रसिद, सम्झौता र व्यक्तिगत चिठ्ठीहरू अझै अध्ययन हुन बाँकी छन्। डोल्गानोभका अनुसार अपोलोले यस्ता विशाल दस्तावेजहरूको भण्डार छिट्टै अध्ययन गर्न सघाएर प्राचीन सामाजिक र आर्थिक इतिहासको नयाँ तस्वीर बाहिर ल्याउनेछ।
अस्ट्रियन एकेडेमी अफ साइन्सेजका अध्यक्ष हाइन्ज फासम्यानले यसले ऐतिहासिक दस्तावेजको अध्ययनमा नयाँ युगको सुरुवात गरेको बताएका छन् भने मिस्ट्रल एआईका सह-संस्थापक तथा मुख्य वैज्ञानिक गिलाउम ल्याम्पलले दुई हजार वर्षदेखि खण्डित रहेका ग्रन्थहरू जोडेर साझा सांस्कृतिक सम्पदा बुझ्ने नयाँ झ्याल खुलेको उल्लेख गरेका छन्।
आगामी दिनमा यसमा विषयगत र अर्थगत खोज (सिमान्टिक सर्च) सुविधा थप्नुका साथै करिब १२ अर्ब शब्दको भण्डार प्रयोग गरी प्राचीन ‘ल्याटिन’ भाषाका लागि पनि यस्तै एआई प्रणाली विकास गर्ने वैज्ञानिकहरूको योजना छ। यद्यपि, एआईले मानव विज्ञलाई विस्थापित गर्ने नभई अनुसन्धानलाई तीव्रता र नयाँ प्रेरणा दिने सहयोगीका रूपमा काम गर्ने र अन्तिम प्रमाणीकरण इतिहासकारहरूले नै गर्नुपर्ने डोल्गानोभले स्पष्ट पारेकी छिन्। [हेरिटेज डेल्लीबाट]