
एजेन्सी- ब्राजिलको उत्तरपूर्वी राज्य मारान्हाओमा बाहिरी संसारबाट अलग (स्वैच्छिक एकान्तवासमा) बसिरहेका करिब २० जना आदिवासी ‘आवा’ (Awá) समुदायका मानिसहरू नोभेम्बर १६ का दिन ‘गुआजाजारा’ आदिवासी गाउँको नजिक आएका छन्। पृथ्वीकै सबैभन्दा असुरक्षित र जोखिममा रहेको समुदाय मानिने आवाहरूको यस दुर्लभ जम्काभेटले स्थानीय आदिवासी समुदाय र अधिकारकर्मीहरूलाई निकै चिन्तित बनाएको छ।
उनीहरू किन यसरी बाहिर आए भन्ने कारण अझै स्पष्ट भइसकेको छैन। यद्यपि, सामाजिक सञ्जालमा आदिवासी संस्थाहरूले राखेका तस्बिर र विवरणहरू हेर्दा गुआजाजारा समुदायका अगुवाहरूले समूहका बालबालिका र वृद्धवृद्धाहरू निकै दुब्ला र कमजोर देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
गुआजाजारा समुदायले उनीहरूलाई खानेकुरा र केही सामानहरू पनि दिए, जसलाई लिएर आवाहरू केही बेरमै पुनः जङ्गलभित्र फर्किए।
ब्राजिलको आदिवासी मामिला हेर्ने सरकारी निकाय ‘फुनाई’ले समाचार संस्था मोङ्गाबेलाई इमेलमार्फत जनाएअनुसार प्राविधिक टोलीहरूले अहिलेको अवस्थाको निगरानी गरिरहेका छन्। साथै, संलग्न आदिवासीहरूको स्वास्थ्य, सुरक्षा र वातावरणीय संरक्षणका लागि कुनै पनि परिस्थिति आइपरे तुरुन्तै उचित कदम चाल्न आकस्मिक योजनासमेत सक्रिय पारिएको फुनाईले बताएको छ। सरकारी निकायले ती समुदायको आफ्नै तरिकाले बाँच्न पाउने (आत्मनिर्णयको) अधिकारलाई सम्मान गरिरहने स्पष्ट पारेको छ।
आदिवासी अधिकारका लागि काम गर्ने संस्था ‘सर्भाइभल इन्टरनेसनल ब्राजिल’ की निर्देशक सारा सेन्करका अनुसार अरारिबोइया क्षेत्रमा बसोबास गर्ने आवा समुदायका मानिसहरू दशकौँपछि पहिलो पटक यसरी बाहिरी मानिसहरूको यति नजिक आएका हुन्। उनका अनुसार यो निकै चिन्ताको विषय हो, किनभने नोभेम्बर महिनामा उनीहरू बस्ने जङ्गलमा पानी र सिकार गर्ने जनावरहरू प्रशस्त पाइन्छन्।
सार्वजनिक भएका तस्बिर र भिडियोमा उनीहरूले तरुल (याम्स) मागिरहेको देखिएकोले कतिपयले उनीहरू भोकमरीका कारण बाहिर निस्किएको अनुमान गरेका छन्। तर, आवा समुदायका मानिसहरूसँग प्रत्यक्ष कुराकानी नगरी (जुन सायद कहिल्यै सम्भव छैन) उनीहरू बाहिर आउनुको ठ्याक्कै कारण थाहा पाउन नसकिने सेन्करले बताइन्।
ब्राजिलकै सबैभन्दा असुरक्षित मानिने अरारिबोइया क्षेत्रमा आदिवासी बासिन्दाहरूमाथि हुने हिंसा र अपराधका घटनाहरूमा दोषीले प्रायः सजाय पाउँदैनन्।
अहिलेको सबैभन्दा ठूलो चिन्ता बाहिर निस्किएका ती आवाहरूको स्वास्थ्यलाई लिएर उत्पन्न भएको छ। निर्देशक सेन्करका अनुसार बाहिरी संसारसँग सम्पर्क नभएकाले उनीहरूको शरीरमा सामान्य रोगसँग लड्ने क्षमता (रोग प्रतिरोधात्मक क्षमता) निकै कम हुन्छ। त्यसैले बाहिरी मानिसहरूको सम्पर्कमा आउँदा सामान्य रुघाखोकी वा अन्य रोग सरेमा पनि उनीहरूका लागि त्यो ज्यानै लिने (प्राणघातक) बन्न सक्छ।
यस घटनाले आदिवासी समुदायको संरक्षणका लागि राज्यका नीतिहरू अझ बलियो बनाउनुपर्ने र उनीहरूको जीवन र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखाएको अधिकारकर्मीहरूको भनाइ छ। अरारिबोइया क्षेत्र र मारान्हाओका आदिवासी संस्थाहरूको सञ्जाल (कोआपिमा) ले एकान्तमा बस्ने आदिवासीहरूको संरक्षण गर्नुको अर्थ उनीहरूलाई आफ्नै भूमिमा, आफ्नै जीवनशैली र छनोटअनुसार बाँच्न दिनु रहेको बताएको छ।
तस्बिर विवरण: नोभेम्बर १६, २०२६ का दिन बाहिरी सम्पर्कमा नरहेका आवा आदिवासी समुदायका मानिसहरू। (तस्बिर सौजन्य: गुआजाजारा आदिवासी समुदाय / सर्भाइभल इन्टरनेसनल)