गुल्मीका प्रहरी निरीक्षक पर्वतकुमार केसी सरकारी क्वार्टरमै मृत फेला

दियोपोस्ट संवाददाता

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी सरकारी निवासमै मृत फेला परेका छन् । मंगलबार बिहान कार्यालय परिसरस्थित सिनियर प्रहरी अधिकृतको निवास (क्वार्टर) मा उनी अचेत अवस्थामा भेटिएका थिए।

बिहान साढे ९ बजेसम्म पनि केसी नउठेपछि सहकर्मी प्रहरी कर्मचारी उनको निवासमा पुगेका थिए । निवासको ढोका भित्रबाट चुकुल लगाइएको र लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट भित्र प्रवेश गरी उनलाई अचेत अवस्थामा फेला पारेको थियो ।

त्यसपछि तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएका केसीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

केसी मृत्यु हुनुअघिल्लो साँझ करिब ९ बजे ड्युटी सकेर क्वार्टरमा फर्किएका थिए । उनी पछिल्लो एक वर्षदेखि जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत थिए ।

सुर्खेतको छिन्चु स्थायी घर भएका केसीको परिवार पछिल्लो समय नेपालगञ्जमा बस्दै आएको थियो । उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए । यस हिसाबले उनले प्रहरी सेवामा करिब २८ वर्ष बिताइसकेका थिए ।

गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीका अनुसार केसीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै उनको मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ ।

 

 

सम्बन्धित खबर