भियतनाम पर्यटनमा रुप्सेको अर्को प्रयास, काठमाडौँ-दानाङ चार्टर उडान हुँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल र भियतनामबिच दुईतर्फी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रुप्से होलिडेजले काठमाडौँ-दानाङ सिधा चार्टर उडान सञ्चालन गर्ने भएको छ । होलिडेजले आगामी डिसेम्बर ९ र १३ अर्थात् मङ्सिर २३ र २७ गते काठमाडौँ–दानाङ सिधा चार्टर उडान सञ्चालन गर्न लागेको हो ।

नेपालको ट्राभल तथा टुर क्षेत्रमा सक्रिय रुप्से होलिडेजले नेपाली पर्यटकलाई भियतनामको पर्यटकीय शहर दानाङ लैजाने र भियतनामी पर्यटकलाई नेपाल भित्र्याउने गरी उडान तथा भ्रमण प्याकेजको व्यवस्था मिलाएको जनाएको छ ।

लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारमा काम गर्दै आएको कम्पनीको यस पहलले दुवै देशका यात्रुलाई ट्रान्जिटको झन्झटबिना सिधा यात्रा गर्ने सहज अवसर प्रदान गर्नेछ ।

कम्पनीका अनुसार भ्रमणका क्रममा नेपाली पर्यटकले दानाङका मनमोहक समुद्री तट, बाना हिल्सको प्रसिद्ध ‘गोल्डेन ब्रिज’ तथा ऐतिहासिक शहर ‘होई आन’ लगायतका आकर्षक गन्तव्यहरूको अनुभव लिन सक्ने छन् । त्यसै गरी, भियतनामी पर्यटकलाई नेपालको अनुपम प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्यसँग परिचित गराउने लक्ष्य राखिएको जनाएको छ ।

रुप्से होलिडेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेश पराजुलीले भने, ‘हाम्रो उद्देश्य नेपाली पर्यटकलाई भियतनाम घुमाउनुका साथै भियतनामी पर्यटकलाई नेपाल भित्र्याउनु पनि हो । यी सिधा चार्टर उडानले दुई देशबिच पर्यटक आदानप्रदान बढाउँदै नेपालको समग्र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ ।’

नेपालबाट भियतनाम जान चाहने पर्यटकहरूले उडान तालिका, भ्रमण प्याकेजको विस्तृत जानकारी आदिबारे जानकारी लिन रुप्से होलिडेजको कार्यालयमा सम्पर्क गर्न सक्ने समेत कम्पनीले जनाएको छ ।

सिफारिस