बरुण वेभरेज नेपाल फेरि पनि उत्कृष्ट करदाताको रूपमा सम्मानित

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपालमा पेप्सी कम्पनीको नामले परिचित बरुण वेभरेज नेपाल प्रालि फेरि पनि उत्कृष्ट करदाताको सम्मानबाट सम्मानित भएको छ । राष्ट्रिय कर दिवस, २०८३ का अवसरमा आयोजित विशेष समारोहमा विशेष उद्योगतर्फ सबैभन्दा धेरै आयकर दाखिला गरेको कारण कम्पनी सम्मानित भएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बरुण वेभरेजसहित विभिन्न विधाका उत्कृष्ट करदाताहरूलाई आन्तरिक राजस्व विभागको कार्यालयमा आयोजित समारोहमा सम्मानपत्र प्रदान गरेका हुन् । कम्पनीका तर्फबाट निर्देशक तथा चिफ फाइनान्स अफिसर सञ्जीव अरोराले सम्मान ग्रहण गरेका छन् ।

बरुण वेभरेजले यसअघि पनि आर्थिक वर्ष २०७९।८० को आय विवरणअनुसार राष्ट्रिय कर दिवस, २०८१ मा विशेष उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गरी सम्मान प्राप्त गरेको थियो । कम्पनीमा निर्देशक तथा चिफ फाइनान्स अफिसरका रूपमा सञ्जीव अरोरा आएपछि कम्पनीले लगातार विशेष उद्योगतर्फ उत्कृष्ट करदाताको सम्मान पाएको हो । यसै गरी, बागमती प्रदेश सरकारले पनि व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा उत्कृष्ट अभ्यास गरेको भन्दै बरुण वेभरेजलाई यसअघि सम्मान गरिसकेको थियो ।

कम्पनीमा निर्देशक तथा चिफ फाइनान्स अफिसर सञ्जीव अरोरा, सहायक उपाध्यक्ष अरविन्द ठाकुर लगायतको व्यवस्थापनले काम सुरु गरेदेखि बरुण वेभरेज प्रालि निरन्तर रूपमा सम्मानित भएको हो ।

पेप्सी कम्पनीको नामले परिचित बरुण वेभरेज नेपाल प्रालि पेप्सी, मिरिन्डा, माउन्टेन ड्यु, स्लाइस, स्टिङ इनर्जी ड्रिंक्स आदि उत्पादन गर्ने उद्योग हो । चिसो पेय पदार्थको उत्पादन र विक्री वितरणमा नेपालमा बरुण वेभरेजको बजार हिस्सा करिब ४५ प्रतिशत रहेको छ भने त्यसको करिब ८५ प्रतिशत हिस्सा माउन्टेन ड्युको मात्रै रहेको छ ।

यसपटकको राष्ट्रिय कर दिवसमा समग्र निकायहरूमध्ये सूर्य नेपाल, व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह, बैंकिङ कारोबारतर्फ नबिल बैंक लिमिटेड, वस्तु निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल, पर्यटन व्यवसायतर्फ सोल्टी होटेल, ऊर्जामूलक उद्योगतर्फ भोटेकोसी पावर कम्पनी, जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाललगायत विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरूलाई सम्मान गरिएको छ ।

सरकारले प्रतिकूल परिस्थितिका बाबजुद उदाहरणीय व्यावसायिकता र उद्यमशीलता प्रदर्शन गर्दै मुलुकको राजस्वमा निरन्तर उच्च योगदान पुर्‍याएको भन्दै भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई समेत विशेष सम्मान प्रदान गरेको छ ।

आन्तरिक राजस्व विभागले पारदर्शी व्यावसायिक अभ्यास, समयमै कर दाखिला गर्ने संस्कारको विकास तथा राज्यको वित्तीय पुँजी निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरूलाई पुरस्कृत गर्दै आएको छ । विभागले स्वच्छ कर प्रणालीको विस्तार गर्दै औपचारिक अर्थतन्त्रलाई अझ मजबुत बनाउन व्यवसायीहरूलाई नियमित रूपमा कर तिर्न आह्वान गरेको छ ।

सम्बन्धित खबर