
काठमाडौँ । देशकै पहिलो भाटभटेनी सुपरमार्केटले आज (मंसिर १) देखि टंगालस्थित मुख्य शाखामा सातै दिन २४ घण्टा सेवा सुरु गर्ने भएको छ । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरले ग्राहकको सुविधालाई ध्यानमा राख्दै टंगाल शाखामा जुनसुकै समयमा किनमेल गर्न सकिने व्यवस्था गरेको हो ।
यसअघि भक्तपुर शाखाबाट २४ घण्टा सेवा दिँदै आएको भाटभटेनीको टंगाल शाखा यस्तो सुविधा दिने देशकै दोस्रो शाखा बन्नेछ ।
नयाँ व्यवस्थाअनुसार ग्राहकले सार्वजनिक बिदाका दिनमा समेत जुनसुकै समयमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न तथा घरायसी सामान खरिद गर्न सक्नेछन् ।
व्यवसायी मिनबहादुर गुरुङले ४२ वर्षअघि काठमाडौँको टंगालबाट भाटभटेनी सुपरस्टोरको सुरुवात गरेका थिए । हाल भाटभटेनीका देशभर २७ वटा स्टोर सञ्चालनमा छन् ।
भाटभटेनीले वार्षिक करिब ३२ अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ । कम्पनीका सबै स्टोरमा गरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।