
काठमाडौँ । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार १९ जनाको मृत्यु भएको छ ।
रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार मंगलबार नियमित उडानमा रहेको एन्टोनोभ एन-१२ ९ब्ल(ज्ञद्द० सैन्य मालवाहक विमान दुर्घटनामा परेको हो । विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए । दुर्घटनामा सबैको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
विमान केमेरोभो क्षेत्रको यागुनोभो गाउँनजिकै मानव बस्ती नभएको क्षेत्रमा खसेको थियो । दुर्घटनापछि विमानमा आगलागी भएको र घटनास्थलमा पुगेका आपत्कालीन उद्धारकर्मीहरूले आगो नियन्त्रणमा लिएको क्षेत्रीय गभर्नर इलिया सेरेद्युकले बताएका छन् ।
रुसी सरकारी समाचार संस्था आरआईए नोभोस्ती र तासलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार प्रारम्भिक अनुसन्धानमा विमान दुर्घटनाको सम्भावित कारण प्राविधिक खराबी रहेको पाइएको छ ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन रुसी एयरोस्पेस फोर्सको एक अनुसन्धान टोली घटनास्थलमा खटिएको रक्षा मन्त्रालयले जनाएको छ । दुर्घटनाका सबै पक्ष र परिस्थितिबारे थप अनुसन्धान भइरहेको छ ।