बंगालको खाडीमा फेरि चक्रवात ‘अकवान’ विकसित, नेपालमा कस्तो पर्ला प्रभाव ?

दियोपोस्ट संवाददाता

काठमाडौँ । बंगालको खाडीमा फेरि चक्रवात ‘अकवान’ विकसित भएको छ । एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा विकसित भएको यो तेस्रो चक्रवात हो । यसअघि चक्रवात ‘अर्नब’ र ‘मुरासु’ विकसित भएको बंगालको खाडीमा अहिले ‘अकवान’ बनेको हो ।

यसको मार्ग पनि भारतको आन्ध्र प्रदेशतर्फ देखिएको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा मौसमविद् विनोद पोखरेलले बताएका छन् ।

भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात ‘अकवान’ नोभेम्बर २० अर्थात् मंसिर ४ गतेतिर भारतको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छ । यसपटक पनि यसअघिका चक्रवातबाट प्रभावित भएकै आसपासका तटीय क्षेत्र प्रभावित हुन सक्ने देखिएको छ ।

नेपालमा कस्तो पर्ला प्रभाव ?

मौसमविद् पोखरेलका अनुसार चक्रवात ‘अकवान’ का कारण नेपालमा वर्षाको सम्भावना केही बढेको देखिएको छ । पछिल्ला पूर्वानुमानअनुसार आगामी आइतबार र सोमबार पूर्वी नेपालको आधा भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्छ । तर, अहिलेसम्म नेपालमा भारी वर्षा हुने स्पष्ट संकेत भने देखिएको छैन ।

चक्रवातको मार्ग र त्यसको प्रभावका आधारमा नेपालमा पर्ने असरबारे थप आकलन गर्न सकिने मौसमविद्हरूको भनाइ छ ।

सम्बन्धित खबर

सिफारिस