पूर्व आइजिपी कार्कीको रिटमा कारण देखाऊ आदेश जारी, दुवै पक्षलाई छलफलमा बोलाइयो

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रहरी महानिरीक्षकको पदबाट हटाएपछि अदालत पुगेका पूर्व प्रहरी प्रमुख दान बहादुर कार्कीको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कार्कीको रिटमा कारण देखाऊ आदेश जारी गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफूलाई आइजिपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएपछि कार्की आइजिपीमै पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । कार्कीले आफ्नो रिटमा आफूलाई प्रहरी महानिरीक्षकमै पुनर्बहाली गर्न र नवनियुक्त प्रहरी महानिरीक्षकलाई कामकाज गर्नबाट रोक लगाउन माग गरेका थिए ।

तर सर्वोच्च अदालतले सरकारले प्रहरी महानिरीक्षक पदबाट कार्कीलाई हटाएर डा. मनोज केसीलाई ल्याउनुको कारण माग गर्दै अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ ।

कार्कीले तत्कालै अल्पकालीन अन्तरिम आदेशको अपेक्षा गरेको भए पनि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश दिएको हो ।

सिफारिस