एनपीएल दोस्रो क्वालिफायर : फाइनल प्रवेशका लागि चितवन राइनोज र सुदूरपश्चिम रोयल्स भिड्दै

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज (बुधबार) दोस्रो क्वालिफायर खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो ‘गर या मर’ को खेल साँझ ५ बजे सुरु हुनेछ । खेलमा विजयी हुने टोलीले उपाधि भिडन्तका लागि फाइनलमा लुम्बिनी लायन्सको सामना गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

चितवन राइनोज हिजो मंगलबार भएको एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको हो । यता, सुदूरपश्चिम रोयल्स भने पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि फाइनल पुग्ने अर्को अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

प्रतियोगिताको फाइनल खेल आगामी शनिबारका लागि तय गरिएको छ । फाइनल प्रवेशको लक्ष्यसहित दुवै टोली आज जित निकाल्ने रणनीतिसहित मैदानमा उत्रनेछन् ।