
काठमाडौँ । मकवानपुर भीमफेदीबाट ११७ किलो भन्दा बढी गाँजा बरामद भएको छ । गाउँपालिका-२ भैँसेस्थित चेकपोस्टमा चेकजाँचका क्रममा कारको डिकीबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद भएको हो ।
गाँजा बरामद भए पनि कार चालक फरार भएको प्रहरीले जनाएको छ ।
गए राति करिब १:४० बजे पालुङबाट भैँसेतर्फ आउँदै गरेको बीएबी ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा रोकिएको थियो । सोही क्रममा चालकले कारको डिकीमा केही नभएको भन्दै भागेपछि डिकी खोली हेर्दा साना-ठूला गरी गाँजाका ९ वटा पोका फेला परेका प्रहरीले जनाएको छ ।
बरामद गाँजा तौल गर्दा ११७ किलो ९१० ग्राम रहेको पुष्टि भएको छ । फरार चालकको खोजी भइरहेको र बरामद कार तथा गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।