चक्रवात ‘अकवान’को प्रभाव पूर्वी तराईमा सामान्य, भारी वर्षाको सम्भावना न्यून

दियोपोस्ट संवाददाता

काठमाडौँ । बंगालको खाडीमा विकसित चक्रवात ‘अकवान’को प्रभाव नेपालमा सामान्य पर्ने देखिएको छ । यसको प्रभावले पूर्वी तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि भारी वर्षाको सम्भावना निकै कम रहेको मौसमविद्ले बताएका छन् ।

एक महिनाभन्दा कम अवधिमा बंगालको खाडीमा विकसित भएको यो तेस्रो चक्रवात हो । यसअघि सोही क्षेत्रमा चक्रवात ‘अर्नब’ र ‘मुरासु’ विकसित भएका थिए ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा मौसमविद् विनोद पोखरेलका अनुसार पछिल्लो पूर्वानुमानले चक्रवात ‘अकवान’को प्रभाव नेपालको पूर्वी तराईमा सामान्य रूपमा पर्ने संकेत गरेको छ ।

उनका अनुसार अघिल्लो अनुमानको तुलनामा यसको प्रभाव केही चाँडै नेपालमा देखिन सक्छ । भोलि शुक्रबार रातिदेखि आइतबारसम्म पूर्वी तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

यद्यपि, पूर्वी तराईमा बादल लाग्ने सम्भावना बढी भए पनि वर्षा हुन्छ वा हुँदैन भन्ने अझै निश्चित भइसकेको छैन । भारी वर्षाको सम्भावना भने निकै कम रहेको मौसमविद् पोखरेलले बताएका छन् ।