वायु प्रदूषणमा काठमाडौँले दिल्लीलाई पनि उछिन्यो, विश्वकै तेस्रो प्रदूषित शहर

दियोपोस्ट संवाददाता

काठमाडौँ । उपत्यकाको वायु प्रदूषणको स्तर निकै अस्वस्थकर बन्दै गएको छ । विश्वका प्रमुख शहरहरूको वायु गुणस्तरको प्रत्यक्ष निगरानी गर्ने अन्तर्राष्ट्रिय सूचकांक (एक्यूआई)अनुसार काठमाडौँ वायु प्रदूषणको उच्च स्तर भएका शहरहरूको सूचीमा विश्वकै तेस्रो स्थानमा पुगेको हो ।

सार्वजनिक पछिल्लो तथ्यांकअनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८३ मापन गरिएको छ, जुन मानव स्वास्थ्यका लागि अस्वस्थकर मानिन्छ । यस क्रममा काठमाडौँले छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीलाई समेत पछि पारेको छ । दिल्लीको एक्यूआई १८२ मापन हुँदा चौथो स्थानमा रहेको छ ।

सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर (३२५ एक्यूआई) र दोस्रो स्थानमा बंगलादेशको ढाका (२५६ एक्यूआई) रहेका छन् । यस्तै, पाकिस्तानकै कराँची १६७ एक्यूआईसहित पाँचौं, इजिप्टको कायरो १६५ सहित छैटौं, भारतको कोलकाता १६४ सहित सातौं, अफगानिस्तानको काबुल १६१ सहित आठौं र भारतकै मुम्बई १६१ एक्यूआईसहित नवौं स्थानमा रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयका सह(प्राध्यापक तथा मौसमविद् विनोद पोखरेलले पनि काठमाडौँसहित दक्षिण एसियाली क्षेत्रको हावाको गुणस्तर निकै खस्कँदै गएको बताएका छन् । मौसमविद् पोखरेलले प्रदूषणको अवस्था भयावह बन्दै गएकाले अब आ-आफ्नो ठाउँबाट प्रदूषण घटाउन सक्दो प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले फोहोर र पराल नजलाउन तथा अनावश्यक धुवाँ र धुलो नबढाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘सफा हावा हामी सबैको आवश्यकता हो, यसलाई जोगाउने जिम्मेवारी पनि हामी सबैको साझा हो,’उनले भनेका छन् । वायु प्रदूषणको स्तर बढेसँगै विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरूलाई स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन उनले सुझाव दिएका छन् ।