दाङमा यात्रुवाहक बस पल्टिँदा १४ जना घाइते

दियोपोस्ट संवाददाता

दाङ । बुटवल भ्रमण सकेर बाँकेको कोहलपुरतर्फ फर्कँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बिहीबार बिहान लमही नगरपालिका-९ स्थित अमिलियामा भे १ ख ३१३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बाँकेको कोहलपुरका स्थानीय बासिन्दाहरू ५३ जनाको समूहमा बस रिजर्भ गरी बुटवल भ्रमणमा गएका थिए । भ्रमण सकेर फर्कने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बाँके र बर्दियाका यात्रुहरू घाइते भएका छन् । घाइते हुनेहरूमा बाँकेको बैजनाथ गाउँपालिकाकी पूर्णिमा थापा र सोही स्थानकी अनिषा सुनार रहेका छन् । यस्तै, बर्दियाको बासगढी नगरपालिका-३ का जीवन सुनार, सन्दीप सुनार, निकिता सुनार, प्रज्ञा सुनार, आकृति सुनार, हरिकृष्ण नेपाली, मनिषा सुनार, पूजा सुनार, दीपक सुनार, पुष्पा सुनार र करण सुनार घाइते भएका छन् ।

घाइते सबैलाई उद्धार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।