
काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा चिसो बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा न्यूनतम तापक्रम घट्ने क्रम देखिएको छ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबार बिहान १३ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । पछिल्ला तीन दिनदेखि काठमाडौँको न्यूनतम तापक्रम निरन्तर घटिरहेको छ।
यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको थियो । शनिबार घटेर १३ दशमलव ८ डिग्रीमा झरेको तापक्रम आइतबार थप घटेर १३ दशमलव ५ डिग्री सेल्सियसमा पुगेको हो ।
महाशाखाले सार्वजनिक गरेको १७ वटा मौसम मापन केन्द्रको विवरणअनुसार देशभरमध्ये सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा मापन गरिएको छ । आइतबार जुम्लाको न्यूनतम तापक्रम माइनस ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । जुम्लामा शुक्रबार ३ डिग्री र शनिबार १ दशमलव ५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको थियो ।
महाशाखाको विवरणअनुसार पहाडी तथा उच्च हिमाली क्षेत्रमा पनि न्यूनतम तापक्रम घटेको छ । आइतबार बिहान ओखलढुङ्गामा ६ दशमलव २ डिग्री, डडेलधुरामा ९ दशमलव ९ डिग्री, ताप्लेजुङमा १३ दशमलव ७ डिग्री, सुर्खेतको वीरेन्द्रनगरमा १४ दशमलव ३ डिग्री, दिपायलमा १५ दशमलव ५ डिग्री र धनकुटामा १५ दशमलव ६ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ ।
त्यस्तै, दाङको घोराहीमा १७ डिग्री र पोखरामा १७ दशमलव ५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको महाशाखाले जनाएको छ।
न्यूनतम तापक्रम घट्दै जाँदा बिहान र रातिको समयमा चिसो बढी महसुस हुन थालेको छ।