धर्म, समाज र दशैँ

Guest
चैतन्य मिश्र

मानव जीवनका अन्य पक्षलाई जस्तै धर्म, रीतिरिवाज, चाडपर्व र संस्कृतिलाई पनि आर्थिक, राजनीतिक, सामाजिक र अनित्य दृष्टिकोणबाट केलाउन सकिन्छ। हरेक दृष्टिकोणले विषयवस्तुका भिन्नभिन्न पक्षलाई उद्घाटित गर्छन्। यस्ता विविध अध्ययन दृष्टिकोण समीप राखेर संश्लेषण गर्न सकेमा मानव-जीवनका विभिन्न पक्षको समष्टिगत समालोचना गर्न सघाउ पुग्छ। यस उद्देश्यअन्तर्गत यहाँ धर्मलाई अध्ययन गर्ने स्थापित वैज्ञानिक दृष्टिकोणको प्रसङ्गमा अधिकांश हिन्दूहरूको मुख्य चाड: दशैँको सामाजिक पक्षबारे चर्चा गरिन्छ।

नेपालमा अधिकांश हिन्दू धर्मावलम्बीले दशैँलाई सनातन धर्मको मूल अङ्गको रूपमा लिने गरेको पाइन्छ। दशैँसँग सम्बन्धित मुख्य धर्मकार्यहरू, शक्ति-देवीको आराधना, पूजापाठ र प्रसाद ग्रहण एवं वितरण हुनु भनेको यी धर्मकार्यको उद्देश्य विजय र वैभवको आकाङ्क्षा सुनिश्चित तुल्याउन खोज्नु हो। आराधना, पूजापाठ र प्रसाद ग्रहण एवं वितरणजस्ता अलौकिक प्रविधिको उपयोगद्वारा विजय र वैभवप्राप्तिजस्तो लौकिक उद्देश्यको परिपूर्ति कसरी सम्भव होला त ?

यस लौकिक उद्देश्य र अलौकिक प्रविधिबिचको खाडल पुर्न चार किसिमका लौकिक-वैज्ञानिक सिद्धान्त अघि सारिएका पाइन्छन्।

पहिलो, ऐतिहासिक भौतिकवाद र यसैसँग सम्बन्धित सामाजिक वर्ग, जात, जाति विन्यासको सिद्धान्त। यस सिद्धान्तअनुसार अलौकिक विचार-कार्यपुञ्ज उपल्लो वर्ग-जातजाति-लिङ्गद्वारा ऐतिहासिक रूपले खडा गरिएका मिथक हुन्। यस मिथकद्वारा तल्लो वर्ग-जातजातिलाई अलौकिक फलप्राप्तिको अनन्त भ्रममा राखेर लौकिक फलमा एकाधिकार जमाउन सकिन्छ र यस अनन्त भ्रमको आडमा तल्लो वर्ग-जातजातिको श्रममाथि पनि कब्जा जमाइरहन सकिन्छ। यसरी धर्म र यससँग सम्बन्धित देवीदेवताको अलौकिक वा पारलौकिक भ्रमजालको आडमा उपल्लो वर्ग-जातजातिमाथि आर्थिक, राजनीतिक प्रभुत्व कायम गर्नुका साथै सांस्कृतिक-वैचारिक प्रभुत्वसमेत कायम राख्दै तल्ला श्रेणीका व्यक्ति र समूहको ‘स्व’ परिभाषित गरिन्छ अनि यिनको श्रम र सङ्गठनमाथि मालिकत्व जमाइन्छ।

लौकिक उद्देश्य अनि धर्म, देवी, देवतासँग सम्बन्धित अलौकिक प्रविधिको प्रयोगको असामञ्जस्यलाई चिर्ने दोस्रो व्याख्या अघिल्लो व्याख्याभन्दा निकै फरक छ। यस व्याख्याअनुसार धर्म आफैँ कुनै अलौकिक वस्तु होइन। धर्म पारलौकिक वस्तु पनि होइन र ईश्वर धर्मको केन्द्रबिन्दु पनि होइन। धर्म व्यक्ति र व्यक्तिवादलाई नियन्त्रण गर्ने लोकरीति हो, जसले व्यक्ति र व्यक्तिवादबाट पैदा हुन सक्ने स्वच्छन्दता र उच्छृङ्खलतालाई मन्द तुल्याएर राख्छ। व्यक्ति र व्यक्तिवादबाट निसृत हुन सक्ने अराजकतालाई रोकथाम गर्न धर्मले महत्त्वपूर्ण भूमिका खेल्छ। यस व्याख्याअनुसार धर्म र ईश्वर स्वयम् मानव समाजद्वारा निर्माण गरिएका मिथक हुन्। व्यक्ति र व्यक्तिवादलाई वशमा पारिराख्न तथा सामूहिकता र सामाजिकताको प्रधानतालाई अविच्छिन्न रूपमा कायम राखिराख्न धर्म, ईश्वर र अन्य आदि भौतिक मिथकलाई जन्म दिइराख्नर संभरण गरिराख्न अत्यन्त आवश्यक हुन्छ। यसो नगरिएमा समाज नियम र रीतिविहीन हुँदै जान्छ।

नियम र रीतिविहीन समाजमा उपज भएका व्यक्तिहरू सामाजिकता गुमाएर सामाजिक लेनदेन गर्न अक्षम हुन्छन्। र तिनीहरूको ‘स्व’ को सामाजिक आधारशिला अत्यन्त दुर्बल हुने हुँदा त्यस समाज र त्यस समाज अन्तर्गतका व्यक्तिमा विकृतिले विकराल रूप लिँदै जान्छ। यसरी यस व्याख्याअनुसार धर्म, ईश्वर, रीति सबै मानव समाजद्वारा निर्माण गरिएका हुन्छन्, किनभने यी सबैविना समाज र सामाजिकता दिगो रहन सक्दैनन्। धर्म सामाजिकतालाई पुनर्जीवीकरण गरिरहने बहाना मात्र हो। यसले ईश्वर नै समाजको प्रतीक हो वा समाज नै ईश्वर हो। धर्म पालन गर्दा मानिसले आफू र आफ्ना स्वधर्मीको र उनीहरूले जीवन व्यतीत गर्ने समाजको स्थायित्व र उन्नतिको  बाटो प्रशस्त गरिरहेको हुन्छ।

लौकिक उद्देश्य र अलौकिक प्रविधिबिच सामञ्जस्य स्थापना गर्न खोज्ने तेस्रो व्याख्याले अपौरुषय र अलौकिक ईश्वर छन् वा छैनन् भन्ने कुरालाई वा ईश्वरको स्रोतसम्बन्धी प्रश्नलाई सान्दर्भिक ठान्दैन। यस दृष्टिकोणअनुसार सान्दर्भिक प्रश्न के हो भने, अलौकिक धर्म वा ईश्वरले व्यक्तिगत वा सामूहिक आचारविचारमा महत्त्वपूर्ण प्रभाव पार्छन् कि पार्दैनन् ? यस दृष्टिकोणबाट प्राप्त हुने व्याख्याअनुसार अलौकिक जगत्सम्बन्धी धारणा र व्यवहारले लौकिक धारणा र व्यवहारमा महत्त्वपूर्ण असर पार्छन्। आर्थिक, सामाजिक र राजनीतिक कारोबारमा समेत अलौकिक जगत्सम्बन्धी धारणाले महत्त्वपूर्ण असर पार्ने गरेका तथ्य संसारका विभिन्न धर्म र सम्प्रदायको तुलनात्मक अध्ययनद्वारा दर्शाइएको छ। यस व्याख्याअनुसार र साधारणतया अनुमान गर्न सकिएझैँ लौकिक प्राप्तिमा जोड दिने र लौकिक प्राप्तिका आधारमा पनि धर्म पालन गरेको ठहरिने तथा लौकिक प्राप्तिका आधारमा पनि ईश्वरप्रतिको आस्था प्रमाणित गर्न सकिने धर्मका अनुयायी समूहले नै आर्थिक र राजनीतिक रूपले बढी सफलता हासिल गर्दै आएका छन्।

धर्मलाई हेर्ने चौथो लौकिक-वैज्ञानिक दृष्टिकोण अघिल्ला तीन दृष्टिकोणभन्दा निकै फरक छ। यस चौथो दृष्टिकोणले धर्मका आर्थिक-राजनीतिक-सांस्कृतिक प्रभावित भन्दा धर्मको उद्भव, धर्मकार्यका आन्तरिक विन्यास र धर्ममा आन्तरिक परिवर्तनलाई स्थानान्तर र समयान्तर एवम् यी अन्तरभित्र लुकेका भौतिक-सामाजिक प्रकृतिका आर्थिक, राजनीतिक, सांस्कृतिक परिवर्तनसँग जोडेर हेर्ने तथा यसकै आधारमा व्याख्या र समालोचना गर्ने गर्छ। अन्य क्षेत्रका आचारविचार जस्तै धार्मिक क्षेत्रका आचार-विचार पनि अपौरुषय उद्भवका होइनन् भन्ने धारणा राख्ने यस दृष्टिकोणले आर्थिक, राजनीतिक, सांस्कृतिक परिवर्तनले धार्मिक ज्ञान र आचारको विन्यासमा के कस्तो परिवर्तन ल्याएका छन् वा ल्याउन सक्छन् भन्ने प्रश्नको हल गर्न खोज्छ।

अव दशैँको विषयवस्तुतिर फर्कौँ। हजारौँ वर्षअघि शायद मध्यदक्षिण एशियाको समशीतोष्ण पहाडी भूखण्डका सुक्खा कृषि र पशुपालनमा आधारित, फिरन्ते जीवनशैली पूर्णतया नछोडिसकेको, कुलकुटुम्बमा सम्पत्तिको अधिकार निहित रहेको, मूलतः कुलकुटुम्बमा आधारित सशक्त सैनिक सङ्गठन रहेको  अनि लामो कालसम्म युद्ध र विजयउन्मुख जातिविशेषबाट दशैँको प्रारूप सुरु भएको हुँदो हो। मध्यदक्षिण एशियाका समूहको लडाकुपन, उनीहरूको विजय र आगमनको लामो इतिहास, पहाड-पुत्री पार्वती (दुर्गा) द्वारा समथलको शत्रु जीव महिषासुरको वधको साङ्केतिक अर्थ, पहाडी भूभागमा साना चौपायाको प्रचुरता र दशैँका लागि यिनीहरूको महत्त्व, समथल क्षेत्रका बासिन्दामा भन्दा पहाडी क्षेत्रका बासिन्दामा दशैँप्रतिको लगाव, पहाडी क्षेत्रमा स्त्री र ईश्वरीको तुलनात्मक महत्त्व, जौको जमराको प्रयोग, कुटुम्ब केन्द्रितपना आदिले यिनै उद्भव-लक्षणतिर इङ्गित गर्छन्। यसबारे गहन शोध र खोजको आवश्यकता त छ नै।

दशैँको उद्भवस्थल र स्थितिका साथसाथै यसमा आएका परिवर्तन अधिकांश रूपमा अनुमानकै विषय रहेका छन्। त्यसो भए तापनि नेपालमा हिन्दू धर्मावलम्बीका साथै कैयौँ गैरहिन्दूबीच पनि दशैँ सबैभन्दा लोकप्रिय चाडका रूपमा मानिँदै आएको छ। यस लोकप्रियताका विभिन्न कारण हुन सक्छन्।

पहिलो कारण, दशैँको लौकिकता र भौतिकता नै हो। दशैँ प्रशस्त मीठो खाने र राम्रो लगाउने चाड हो। मीठो खाने र राम्रो लगाउने पर्व भएको हुँदा वर्षभरि नै यसले आर्जन र सञ्चय गर्ने प्रेरणा दिन्छ।

दोस्रो कारण, अन्य कतिपय धर्मकर्म, चाडजस्तो गरी दशैँ कुनै लिङ्गविशेष, उमेरविशेष, क्षेत्रविशेष वा जातविशेष मात्रले मनाउने चाड नभएर सबै हिन्दू, त्यसमा पनि दुवै लिङ्ग, सबै उमेर, क्षेत्र र जातले मनाउने चाड हो। बुद्धमार्गीमा दशैँ मान्ने रीत निकै फरक भए तापनि विजय र वैभव प्राप्ति नै यसको उद्देश्य रहेको छ।

तेस्रो कारण, दशैँ मूल रूपमा कष्टकर उपवास बस्नुपर्ने र पाठपूजाकेन्द्रीत चाड नभएर हर्षोल्लास मनाउने चाड हो।

चौथो कारण, दशैँ ऋतु फसल काटी अन्न भण्डारण गर्ने, दूधदही पाइने, वर्षाकालीन हरियो घाँसपात खाई तन्दुरुस्त भएका बोकाखसी पाइने मौसम हो। यसका साथै दशैँ वार्षिक कृषि श्रम चक्रबाट केही फुर्सद पाइने ऋतु पनि हो।

पाँचौँ कारण, शायद सबैभन्दा महत्त्वपूर्ण कारण, अन्य कतिपय व्यक्तिगत वा पारिवारिक लाभको उद्देश्य राखी गरिने धर्मकार्यभन्दा फरक दशैँ समस्त कूलकुटुम्बको विजय र वैभवका लागि सम्पन्न गरिने चाड रह्यो र त्यसैले दशैँ कुटुम्ब आधारित सामाजिकता पुनर्जीवीकरण र सबलीकरण सम्भव बनाई दिइरहने चाड पनि रह्यो। कुटुम्बभित्र रहेका पारिवारिक र व्यक्तिगत द्वेषको गहिराई घटाउने वा पुर्ने मौका पनि दशैँले प्रदान गर्ने भयो।

दशैँका अन्य पक्ष पनि उत्तिकै विचारणीय छन्। दशैँ सम्पन्न गर्न प्रयोग गरिने कतिपय प्रविधि विज्ञानसम्मत छैनन् अथवा दशैँका सहभागीहरू यिनका प्रयोगको व्याख्याबाट वञ्चित र भ्रमित रहन्छन्। अलौकिक प्रविधिहरू आफैँ भ्रमात्मक मात्र नभएर असत्य हुन्छन्। दशैँमा राखिने विजय र वैभवको अभिलाषा सामन्ती प्रथाअन्तर्गत पनि कुटुम्बभित्रको आत्मीयताको गहिराई र द्वेषहीनताबाट प्राप्त हुन सक्ला, पूजापाठ र प्रसाद ग्रहणबाट हुन सक्दैन।

दशैँले हाम्रो समाजमा सामन्ती संस्कार गहिऱ्याउने अवसर पनि दिएको छ। यही मौकामा जग्गाधनी कृषकबाट सौगात थप्न कुर्छन्। माथिल्लो श्रेणीका नोकरशाह तल्ला श्रेणीका कामदारबाट अभिवादन र चाकरी खोजिरहेका हुन्छन्। आडम्बर र अनावश्यक खर्चका साथै नाफाखोरीका लागि पनि दशैँ उपयुक्त मौका प्रदान गरेकै छ। कैयौँ परिवारलाई ऋण बोकाउने माध्यम पनि बनेकै छ- दशैँ।

नेपालमा दशैँको तेस्रो प्रबल पक्ष भनेको हिन्दू राज्यको संवैधानिकता र त्यसअन्तर्गत परिचालन गरिने शक्तिशाली सांस्कृतिक साम्राज्यवाद हो। विगतमा बडादसैँमा राजाको सन्देशदेखि लिएर कार्यालय-विद्यालयको लामो छुट्टी, राज्यसंरक्षित बलि र बढाँई, दरबारदेखि मन्त्रीसम्मको टीकाको लामो टिभी प्रसारण आदि अन्य धर्म र धर्मावलम्बीमाथि साँधिएका शक्तिशाली अस्त्र हुन्। दशैँको नाममा राज्यले चलाउने यो धर्मअस्त्र समस्त देशवासी हिन्दूका विजय र वैभवका लागि होइन, शासन चलाउने पाखण्डका रूपमा पनि विकसित हुँदै आएको छ। यी वास्तविकतातर्फ हिन्दू र गैरहिन्दू सबैले ध्यान पुऱ्याउनु आवश्यक छ।

(मूल्याङ्कन : ७ कार्तिक ०४९)