
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सञ्चारजगतका चर्चित अनुहारहरू प्रत्यक्ष राजनीतिमा होमिए । कोही राजनीतिक दलको चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिए भने कोही स्वतन्त्र उम्मेदवार बने ।कतिपयले पार्टीबाट टिकट नपाएपछि असन्तुष्टि जनाउँदै अन्ततः आफ्नै दलका उम्मेदवारलाई समर्थन गरे । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने यो प्रवृत्तिले नेपाली राजनीति र पत्रकारिताको विश्वसनीयतामाथि बहस सिर्जना गरेको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कुनै समय चर्चित टेलिभिजन पत्रकार थिए । जनताका मुद्दालाई टेलिभिजनको पर्दामार्फत उठाउँदै आएका लामिछाने ती मुद्दालाई संसद्सम्म पुर्याउने उद्देश्यसहित दलीय राजनीतिमा प्रवेश गरे । पत्रकारिताबाट सुरु भएको उनको यात्रा अहिले राष्ट्रिय राजनीतिमा स्थापित भएको छ ।
पुराना राजनीतिक दलको आलोचना गर्दै राजनीतिमा आएका लामिछाने सफलताको खुड्किलोमा छन् । उनले राजनीतिमा पाइला टेकेयता पछाडी फर्केर हेर्नु परेको छैन । उनी सहकारी ठगी काण्ड, नागरिकता काण्ड, पासपोर्ट काण्ड, शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्धामा समेत बिवादमा मुछिएका पात्र हुन् । तर, खरो र तार्किक अभिब्यक्तिले उनलाइ राजनीतिको उचाइँमा पुर्याएको छ ।
त्यस्तै, टेलिभिजन पत्रकार जगदीश खरेलले जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारबाट राजनीतिक यात्रा सुरु गरे । त्यसपछि रास्वपामा आबद्ध भएका उनी हाल पार्टी प्रवक्ताको जिम्मेवारीमा छन् । खरेलले ललितपुर(२ बाट उम्मेदवारी दिएर प्रतिनिधिसभा निर्वाचनमा भारी मतसहित विजय हासिल गरे ।
गत निर्वाचनमा नेपाली कांग्रेस र रास्वपाबाट पनि सञ्चारकर्मी तथा पत्रकारहरू एकै स्थानमा उम्मेदवार बने । भक्तपुर-२ मा कांग्रेसबाट कबिर राणा र रास्वपाबाट राजीव खत्री चुनावी प्रतिस्पर्धामा उत्रिए ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जुम्ला-१ मा मनऋषि धिताल र भक्तपुर-२ मा जन्मदेव जैसी उम्मेदवार बने । नेपाली कम्युनिस्ट पार्टीबाट हुम्लामा दीपेन्द्र रोकाय, काठमाडौँ-१० मा रूपा महर्जन र दोलखा-१ मा अजयबाबु शिवाकोटीले उम्मेदवारी दिए ।
त्ससो त, ‘हाम्रो पार्टी’ नामक राजनीतिक दल दर्ता गरेका खगेन्द्र सुनार गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट बाँके क्षेत्र नं.३ को उम्मेद्वार बने । उनी सो क्षेत्रबाट भारी मतका साथ विजयी भए । तर उनको बिरासत पनि पत्रकारिता नै हो । उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा आवद्ध थिए ।
दलित तथा सिमान्तकृत समुदायका बिषय उठाएर चर्चामा आएका उनले रुकुम पश्चिमस्थित सोतीमा हत्या गरिएका नवराज बिकको न्यायका लागि आवाज उठाउँदै तत्कालिन सरकारमा दलितको प्रतिनिधित्व नभएको भन्दै ‘दलितलाई खोइ?’ भन्ने प्रश्नसहित शरिरभरी साङ्ला भिरेर महिनौसम्म माइतीघर मण्डलामा धर्ना समेत दिएका थिए ।
तर, सांसद बनेयता बिभिन्न अभिव्यक्तिका कारण उनी विवादमा तानिदै आएका छन् ।
यसै गरी, टेलिभिजन प्रस्तोता ऋषि धमला आम जनता पार्टी (आजपा) बाट रौतहट(४ मा उम्मेदवार बने । निर्वाचन आयोगले उनलाई ‘मोबाइल’ चुनाव चिह्न प्रदान गरेको थियो । चुनावी अभियानका क्रममा धमलाले रौतहटका विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरे । कतै मतदातासँगै हाँसे त कतै भावुक बने । उनले निर्वाचनका समयमा घोषणा गरेका थिए, मैले पत्रकारिता छाडेँ, अब राजनीतिबाटै देश र जनताको सेवा गर्छु । तर जनताले उनलाई साथ दिएनन्, निर्वाचनले उनको राजनीतिक भविष्य निर्धारण गर्न सकेन ।
तर पत्रकारिता छाडेको घोषणा गरेका धमला प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भने पुनः सञ्चारकर्मीको सूची मार्फत भारत पुगे ।
निर्वाचनका क्रममा केही सञ्चारकर्मीको राजनीतिक यात्रा फरक मोडमा पुग्यो । लामो समयदेखि एचटीपी खबरमा कार्यरत दिवाकर साह धनुषा(३ बाट ‘आँप’ चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बने । शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई मुख्य चुनावी एजेन्डा बनाएका साहले रास्वपालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको हल्ला सामाजिक सञ्जालमा फैलियो । त्यसपछि उनले फेसबुक लाइभमार्फत उक्त हल्लाको खण्डन गर्नुपर्यो । राजनीतिक यात्राले लामो यात्रा गर्न नसकेपछि उनी पुनः सञ्चारकर्ममा फर्किए ।
साथै सञ्चारकर्मी तथा सामाजिक अभियन्ता भोजराज थापाले रास्वपाबाट दाङ(१ मा उम्मेदवार बन्ने तयारी गरे तर अन्तिम समयमा टिकट नपाएपछि पत्रकारिता र समाजसेवामा फर्किने घोषणा गरे ।
नेपालमा पत्रकारिता र राजनीतिबिचको सम्बन्ध नयाँ होइन । लोकतान्त्रिक आन्दोलनका क्रममा नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई पछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बने र पछि सभापति हुँदै प्रधानमन्त्री बने ।
मदनमणि दीक्षित, गोविन्द वियोगी र किशोर नेपालले पत्रकारितामार्फत प्रजातान्त्रिक तथा वामपन्थी चेतना फैलाउन भूमिका खेले । कृष्ण सेन ‘इच्छुक’ प्रगतिशील पत्रकारिता र साहित्यसँगै माओवादी राजनीतिमा सक्रिय थिए ।
पछिल्लो पुस्तामा रवि लामिछानेले टेलिभिजन प्रस्तोताको परिचयबाट राजनीतिक दल स्थापना गर्दै उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीसमेत पाए । त्यसैगरी रवीन्द्र मिश्रले बीबीसी नेपाली सेवाको प्रमुख पद छाडेर साझा पार्टी गठन गरे । उनले पनि जनताको सेवा गर्न पत्रकारिता छाडेर राजनीतिमा आएको भन्दै साझा पार्टी गठन गरेका थिए ।
यसरी सञ्चार जगतबाट राजनीतिका आएका धेरै व्यक्तिहरूको राजनीतिक यात्रा औसत हुने गरेको छ, जसको कारण दुवै पेसाप्रति जिम्मेवार भए नभएको मूल्यांकन हुने गरेको छ ।
युवा अध्येता तथा राजनीतिक विश्लेषक नवीन तिवारी छोटो समयमा बनेको लोकप्रियता र ‘भाइरल’ परिचयलाई राजनीतिक प्रवेशको माध्यम बनाउने प्रवृत्तिले पत्रकारिता र राजनीति दुवै क्षेत्रलाई प्रभावित गरिरहेको बताउँछन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल हुने वा कुनै क्षेत्रमा चर्चा कमाउने बित्तिकै त्यसलाई राजनीतिक उदयको सिँढी बनाउने मानसिकता बढेको तिवारीको भनाइ छ । उनका अनुसार कतिपय पत्रकार तथा सार्वजनिक व्यक्तित्वले पत्रकारिताको मर्मभन्दा आफ्नो अनुहार लोकप्रिय बनाउने र अवसर छोपेर राजनीतिमा प्रवेश गर्ने ध्येय राख्न थालेका छन् ।
‘पत्रकारले राजनीति नै गर्न हुँदैन भन्ने होइन, गर्न पाउँछन् किनभने पत्रकारले समाजको नालीबेली पकडेको हुन्छ,’ तिवारी भन्छन्, ‘तर जब पत्रकारले अवसर हेरेर ‘यो बेलामा मेरो रोटी सेकिन्छ’ भनेर राजनीतिमा जान्छ, तब उसले न त गतिलो पत्रकारिता गर्छ, न त गतिलो राजनीति नै ।’
सामाजिक सञ्जालमा चर्चा कमाएकै भरमा सांसद र मन्त्री बन्न सकिने नजिर तथा लामो राजनीतिक संघर्षबिना नेता बन्न सकिने भाष्यले समग्र प्रणालीलाई कमजोर बनाउने उनको तर्क छ ।
अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिँदै स्थापित तथा सम्मानित पत्रकारहरूले पेसा छाडेर राजनीतिमा प्रवेश गर्नुभन्दा पत्रकारकै हैसियतमा सत्ता र सरकारलाई खबरदारी गर्ने अभ्यासलाई महत्त्व दिनुपर्ने तिवारीको तर्क छ ।
उनले भने, ‘सत्तामाथि निगरानी राख्ने, अन्याय, अत्याचार र सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने पत्रकारिताको मूल धर्म हो,’ उनी थप्छन्, ‘यही पेसाबाट राजनीतिक अवसर खोज्दै बाहिरिने प्रवृत्तिले पत्रकारिताको गरिमा र गुणस्तरमा दीर्घकालीन असर पर्छ ।’
सञ्चारकर्मी वा पत्रकारले राजनीतिमा प्रवेश गर्न पाउने वा नपाउनेभन्दा पनि उनीहरूको राजनीतिक प्रवेशको उद्देश्य, पेसागत निष्पक्षता र सार्वजनिक जबाफदेहिता महत्त्वपूर्ण हुन आवश्यक रहेको उनको भनाइ छ ।
पत्रकारितालाई पहिचान र अवसरको सहज माध्यम बनाउँदै राजनीतिमा प्रवेश गर्ने र पुनः पत्रकारितामै फर्किने प्रवृत्तिले व्यक्ति र समग्र समाजमा नकारात्मक असर पार्ने राजनीतिक विश्लेषक गोविन्दमान सिंह कार्कीको भनाइ छ ।
कार्कीले पत्रकारिता पहिचान बनाउने सजिलो माध्यम बनेको भएतापनि निश्चित समय र उचाइमा पुगेपछि पेशा परिवर्तन गर्ने तथा अवसरको पछि लाग्दा व्यक्तिमा ‘विचलन’ को अवस्था सिर्जना हुने तर्क गर्छन् ।
‘एउटा लेभल आफूलाई बनाइसकेपछि राजनीतितिर जम्प गर्ने र अवसर प्राप्त गर्ने प्रवृत्ति देखिन्छ,’ कार्कीले भने, ‘आधार र तयारीबिना हतारमा राजनीतिमा जाँदा त्यसको प्रभाव दीर्घकालीन रूपमा नकारात्मक पर्न सक्छ ।’
रवि लामिछानेले पार्टी सङ्गठन, पृष्ठभूमि र विभिन्न चरणको तयारीसहित अघि बढ्दा तुलनात्मक रूपमा सहजता महसुस गरेको देखिए पनि अन्य पत्रकारले आफ्नै धरातल र अवस्थाको आंकलन नगरी राजनीतिमा होमिएको विषय अस्वाभाविक भएको कार्कीले बताए ।
‘राजनीतिले देश चलाउने सन्दर्भमा राम्रो भूमिका खेल्न सक्छ, तर हाम्रो परम्परामा राजनीतिमा गएर फर्किसकेपछि फेरि पत्रकारितामा पहिलेकै स्थान र विश्वास कायम राख्न कठिन हुन्छ ,’ उनले भने ।