
काठमाडौँ । संखुवासभाको खाँदबारीबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-१ निवासी २६ वर्षीय चिरायु पोख्रेल, सोही ठाउँका २२ वर्षीय शुवास दाहाल र नुवाकोटको बेलकोटगढी नगरपालिका-१० घर भई हाल खाँदबारी नगरपालिका-१ बस्ने २१ वर्षीय विनोद डोटेल रहेका छन् ।
गत शुक्रबार (मंसिर ११ गते) राति खाँदबारी नगरपालिका-१ देवकोटा टोलस्थित चिरायु पोख्रेलको घरमा लागुऔषध लुकाईछिपाई बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षक धनबहादुर राजवंशीको कमाण्डमा खटिएको टोलीले पोख्रेलको घर खानतलासी गर्दा प्लास्टिकका स-साना पोका र ती पोका बनाउन प्रयोग गरिएको प्लास्टिकसहित ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर ९खैरो हेरोइन० बरामद गरेको थियो । त्यसपछि पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घटनास्थलबाट फरार रहेका अन्य दुई जनालाई प्रहरीले शनिबार (मंसिर १२ गते) दिउँसो सोही स्थानबाट पक्राउ गरेको जनाएको छ ।
घटनाबारे जिल्ला अदालत संखुवासभाबाट आइतबार थप अनुसन्धानका लागि अनुमति लिई जिल्ला प्रहरी कार्यालय संखुवासभाले अनुसन्धान अघि बढाएको जनाएको छ ।