शिक्षक तथा कर्मचारीका माग पूरा नगरे आन्दोलन गर्ने महासंघको चेतावनी

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारसँग भएका सहमति कार्यान्वयन गर्न र विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेको छ । महासंघले शिक्षक तथा विद्यालय कर्मचारीका विभिन्न समस्या समाधान गर्न सरकारलाई दबाब दिँदै माग सम्बोधन नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएको छ।

महासंघले नेपाल सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको र शिक्षा क्षेत्रका समस्या समाधान हुन नसकेको भन्दै असन्तुष्टि जनाएको छ । गुणस्तरीय सार्वजनिक शिक्षाको दिशामा लामो समयदेखि प्रयास भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको महासंघको भनाइ छ ।

महासंघले विद्यालय शिक्षा ऐन जारी गर्दा शिक्षक महासंघसँग सहकार्य र संवाद गर्न, शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन गर्न र विगतका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

महासंघले अघि सारेका प्रमुख मागहरूमा शिक्षकहरूको निवृत्तिभरण प्रणालीलाई व्यवस्थित गर्ने, अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था मिलाउने, दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई दुर्गम तथा स्थानीय भत्ता उपलब्ध गराउने र विद्यालय कर्मचारी तथा इसिडी शिक्षकको दरबन्दी तथा सेवा सुविधाको व्यवस्था गर्ने रहेका छन् ।

त्यस्तै, विद्यालय कर्मचारी र इसिडी शिक्षकलाई दरबन्दीअनुसार नेपाल सरकारबाट तलबभत्ता उपलब्ध गराउन, विद्यालय शिक्षा ऐनलाई शिक्षक तथा विद्यालय कर्मचारीमैत्री बनाउँदै अविलम्ब जारी गर्न र शिक्षक महासंघले अघि सारेका माग सम्बोधन गर्न महासंघले आग्रह गरेको छ ।

महासंघले शिक्षा नियमावली (दशौँ संशोधन) को नियम १५७ उपनियम ३ अनुसार मन्त्रालयमा पेस भएको विधेयकलाई तत्काल स्वीकृत गर्न पनि माग गरेको छ ।

महासंघले शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नगरे आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ।

सम्बन्धित खबर

सिफारिस

×