
काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामै विद्युत् निर्यातबाट २० अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । साउनदेखि कात्तिकसम्म देशभित्र खपतपछि बचत भएको विद्युत् भारत र बंगलादेशमा बिक्री गरी नेपाल विद्युत् प्राधिकरणले २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।
प्राधिकरणले उक्त चार महिनाको अवधिमा २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् निर्यात गरेको जनाएको छ । वर्षायाममा उत्पादन बढेर आन्तरिक खपतभन्दा बढी भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
त्यसैगरी, द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ । नेपाल, भारत र बंगलादेशबीचको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा समेत विद्युत् बिक्री हुँदै आएको छ ।
प्राधिकरणका अनुसार चार महिनामा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ । कात्तिक महिनामा मात्रै ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ । उक्त महिनाको औसत बिक्रीदर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको थियो ।
चार महिनामध्ये असोजमा सबैभन्दा बढी विद्युत् निर्यात भएको छ । असोजमा ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात गरी ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ । उक्त महिनाको औसत बिक्रीदर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीले विद्युत् उत्पादन र प्रसारणतर्फका संरचनामा क्षति पुर्याउँदा केही आयोजनाको उत्पादन बन्द भएको थियो । त्यसका कारण यस वर्ष विद्युत् निर्यात प्रभावित भएको हो ।
निर्यातका लागि स्वीकृति प्राप्त केही आयोजनामा बाढीले क्षति पुर्याए पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको श्रेष्ठले बताए ।
गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गर्दा १० अर्ब ५६ करोड रुपैयाँ खर्च भएको थियो ।
यसरी गत आवमा विद्युत् आयातमा भएको खर्चभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । नेपाल पछिल्ला दुई वर्षदेखि विद्युत् व्यापारमा खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको छ ।