
काठमाडौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका पेसागत अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयअगाडि धर्ना दिएको छ ।
महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म एक घण्टा धर्ना दिएको हो । ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता ः रास्वपाको सरकारले सुनेन, सत्ताधारी दलले सुनिदेऊ’ भन्ने नारासहित आयोजित धर्नामार्फत महासंघले प्रेस स्वतन्त्रताप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको र पहिलो चरणको आन्दोलनबाट उठाइएका माग सम्बोधन नगरेको भन्दै दोस्रो चरणको आन्दोलन सुरु गरेको जनाएको छ ।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड तथा पक्राउ गरिएको, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेशमार्फत प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको र सञ्चारमाध्यममा अवरोध पुर्याउनेमाथि कारबाही नभएको महासंघको आरोप छ । महासंघले यी घटनालाई पत्रकारिता क्षेत्रको स्वतन्त्रता र पेसागत सुरक्षासँग जोडेर उठाएको छ ।
महासंघले पत्रकारहरूको पेसागत सुरक्षा, श्रम अधिकार र सञ्चारमाध्यमको आर्थिक अधिकारलाई पनि आन्दोलनको प्रमुख विषय बनाएको छ । गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको तथा प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार पत्रपत्रिकाले पाउनुपर्ने लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध नगराइएको महासंघको भनाइ छ ।
महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग पटक-पटक संवाद गरे पनि समस्याको समाधान नभएको र प्रधानमन्त्रीसँग भेटका लागि समय माग गर्दा पनि सुनुवाइ नभएको जनाएको छ । आफ्ना माग प्रधानमन्त्रीसमक्ष लिखित रूपमा प्रस्तुत गर्दा समेत सम्बोधन नभएपछि सरकारको नेतृत्व गरिरहेको दललाई ध्यानाकर्षण गराउन रास्वपाको कार्यालयअगाडि धर्ना दिनुपरेको महासंघकी अध्यक्ष निर्मला शर्माले बताएकी छन् ।
महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत मंसिर १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेपाली कम्युनिस्ट पार्टी, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेको छ । त्यसैगरी मंसिर २० गते काठमाडौंको माइतीघर मण्डलासहित देशभरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने कार्यक्रम छ ।
महासंघले कुनै पनि राजनीतिक दलले आफ्ना मागप्रति लिखित ऐक्यबद्धता जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा प्रतिबद्धता व्यक्त गरेमा त्यस्तो दलको कार्यालयमा धर्ना नदिने स्पष्ट पारेको छ । दोस्रो चरणको आन्दोलनबाट समेत माग सम्बोधन नभए तेस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्ने महासंघले जनाएको छ ।




