भारतस्थित नेपालीका १० साझा सवालः समाधानका लागि नेपाली समाजद्वारा राजदूतसमक्ष ज्ञापनपत्र  

दियोपोस्ट संवाददाता

नयाँ दिल्ली । भारतमा बसोबास गर्दै आएका नेपाली नागरिकले भोगिरहेका विभिन्न समस्या समाधानका लागि नेपाली समाज भारतले भारतका लागि नवनियुक्त नेपाली राजदूतसमक्ष १० बुँदे माग तथा सुझाव पेस गरेको छ ।

नेपाली समाज भारतका केन्द्रीय सह-संयोजक आरबी खड्काले नोभेम्बर २५, २०२६ मा राजदूतलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि सुझाव पेस गरेका हुन् ।

समाजले भारतस्थित नेपाली समुदायको पहिचान, सुरक्षा, अधिकार र हित संरक्षणका लागि प्रभावकारी पहल गर्न आग्रह गरेको छ ।

ज्ञापनपत्रमा भारतमा लाखौँ नेपाली नागरिक रोजगारी, व्यापार, व्यवसाय, शिक्षा तथा विभिन्न पेसामा संलग्न रहेको उल्लेख गर्दै उनीहरूले आफ्नो श्रम, सीप र व्यवसायमार्फत दुवै देशको सामाजिक तथा आर्थिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको जनाइएको छ । तर, भारतमा बसोबास गर्ने क्रममा नेपाली नागरिकले पहिचान, आधारकार्ड, बैंकिङ सेवा, शिक्षा, स्वास्थ्य, रोजगारी, कानुनी जटिलता, सामाजिक सुरक्षा तथा सीमा क्षेत्रमा सुरक्षा र सम्मानसँग सम्बन्धित विभिन्न समस्या भोग्नुपरेको समाजको भनाइ छ ।

समाजले नेपाल-भारतबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिको भावना अनुरूप भारतमा रहेका नेपाली नागरिकको आवागमन, रोजगारी, पेशा, व्यवसाय तथा सम्मानपूर्वक जीवनयापन गर्ने अधिकार संरक्षण गर्न माग गरेको छ । विशेषगरी आधारकार्ड बनाउन आवश्यक पर्ने १८२ दिनको बसोबास प्रमाण, स्थानीय ठेगाना तथा अन्य कागजातसम्बन्धी प्रक्रियाले नेपाली नागरिकलाई कठिनाइ भइरहेको भन्दै भारत सरकारका सम्बन्धित निकायसँग कूटनीतिक पहल गर्न आग्रह गरिएको छ ।

त्यस्तै, दैनिक प्रशासनिक तथा व्यावहारिक कामका लागि आवश्यक कागजात बनाउँदा नेपाली नागरिकमाथि दोहोरो नागरिकताको आशंका गर्ने, अनावश्यक सोधपुछ गर्ने तथा कानुनी झन्झटमा पार्ने समस्या समाधान गर्नुपर्ने माग गरिएको छ । यस्ता समस्यामा परेका नेपाली नागरिकलाई राजदूतावासमार्फत कानुनी परामर्श, सहयोग र कूटनीतिक संरक्षण उपलब्ध गराउन पनि समाजले आग्रह गरेको छ ।

शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने विषय समेत ज्ञापनपत्रमा उल्लेख छ । भारतमा अध्ययनरत नेपाली विद्यार्थीले भर्ना, शुल्क, छात्रवृत्ति तथा प्रमाणपत्र प्राप्तिमा भोग्नुपरेका समस्या समाधान गर्न तथा उपचारका लागि भारत पुग्ने नेपाली बिरामीलाई सहज र सम्मानजनक स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नुपर्ने समाजको माग छ । आर्थिक रूपमा कमजोर विद्यार्थी, बिरामी तथा असहाय नागरिकका लागि विशेष सहयोगको व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।

भारतका विभिन्न उद्योग, कलकारखाना, होटल, निर्माण क्षेत्र, घरेलु काम तथा कृषि क्षेत्रमा कार्यरत नेपाली श्रमिकले न्यून पारिश्रमिक, समयमै ज्याला नपाउने, श्रम शोषण, दुर्व्यवहार र दुर्घटनापछि क्षतिपूर्ति नपाउने समस्या भोगिरहेको ज्ञापनपत्रमा उल्लेख छ । श्रमिकको उचित पारिश्रमिक, सुरक्षित कार्यस्थल र कानुनी संरक्षण सुनिश्चित गर्न भारतीय निकायसँग समन्वय गर्नुपर्ने माग गरिएको छ । रोजगारीका क्रममा मृत्यु वा दुर्घटनामा परेका श्रमिक तथा उनीहरूका परिवारलाई न्याय र आवश्यक सहयोग उपलब्ध गराउने प्रभावकारी व्यवस्था मिलाउन पनि समाजले ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी, भारतका विभिन्न सहरमा यात्रा गर्दा तथा नेपाल–भारत सीमा नाकामा नेपाली नागरिकले भोग्नुपरेका लुटपाट, ठगी, दुर्व्यवहार र अनावश्यक रोकटोक नियन्त्रण गर्न माग गरिएको छ । महिला, बालबालिका, वृद्धवृद्धा तथा असहाय नागरिकको सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्ने र सीमा क्षेत्रमा हुने मानव बेचबिखन, ठगी तथा शोषण नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच समन्वय बढाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

भारतमा व्यापार, व्यवसाय, उद्योग तथा स्वरोजगारमा संलग्न नेपाली व्यवसायीले व्यवसाय दर्ता, बैंकिङ, कर तथा स्थानीय प्रशासनसँग सम्बन्धित प्रक्रियामा भोग्नुपरेका समस्या समाधान गर्न पनि समाजले आग्रह गरेको छ । साथै, नेपालमा लगानी गर्ने भारतीय व्यवसायीको लगानी, सम्पत्ति र व्यवसायको सुरक्षा सुनिश्चित गर्दै दुवै देशबीच व्यापार, लगानी र उद्यमशीलताको वातावरण विस्तार गर्नुपर्ने सुझाव दिइएको छ ।

ज्ञापनपत्रमा प्रवासी नेपाली नागरिकको मताधिकार र राज्यका विभिन्न तहमा प्रतिनिधित्वको विषयसमेत उठाइएको छ । विदेशमा रहेका नेपाली नागरिकले नेपालको निर्वाचनमा सुरक्षित, सहज र पारदर्शी रूपमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न नेपाल सरकारसमक्ष पहल गर्नुपर्ने समाजको माग छ । राष्ट्रिय नीति निर्माण तथा प्रवासी नेपालीसँग सम्बन्धित निर्णय प्रक्रियामा उनीहरूको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।

भारतमा रहेका नेपाली समुदायको भाषा, संस्कृति, साहित्य, कला, परम्परा तथा ऐतिहासिक पहिचान संरक्षण र प्रवर्द्धनका लागि नेपाली राजदूतावासले सामाजिक संघसंस्थासँग सहकार्य गर्नुपर्ने विषयलाई पनि ज्ञापनपत्रमा समेटिएको छ । विशेषगरी भारतमा जन्मिएका तथा हुर्किएका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र मातृभूमिसँग जोड्ने कार्यक्रम सञ्चालन गर्न समाजले सुझाव दिएको छ ।

नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध, द्विपक्षीय व्यापार, पर्यटन, कृषि, उद्योग, ऊर्जा, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने माग गर्दै समाजले सीमावर्ती क्षेत्रका नागरिक, साना तथा मझौला व्यवसायी र नेपाली उत्पादनको व्यापारमा संलग्न उद्यमीले भोगिरहेका समस्या समाधान गर्नसमेत आग्रह गरेको छ ।

यसका अतिरिक्त भारतमा रहेका नेपाली नागरिकका समस्या तत्काल सम्बोधन गर्न नेपाली राजदूतावासमा स्थायी प्रवासी नेपाली सहायता तथा समन्वय संयन्त्र स्थापना गर्नुपर्ने माग गरिएको छ । उक्त संयन्त्रमार्फत कानुनी सहायता, श्रमिक समस्या, महिला तथा बालबालिकाको सुरक्षा, आपत्कालीन उद्धार, बिरामी तथा असहाय नागरिकलाई सहयोग र मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने प्रक्रियामा सहजीकरण गर्नुपर्ने सुझाव दिइएको छ । भारतका विभिन्न राज्यमा रहेका नेपाली समाज तथा सामाजिक संघसंस्थाका प्रतिनिधिसँग नियमित संवाद र परामर्श गर्ने स्थायी संयन्त्र निर्माण गर्न पनि आग्रह गरिएको छ ।

नेपाली समाज भारतले भारतमा रहेका नेपाली समुदाय नेपाल र भारतबीचको सम्बन्धलाई जनस्तरमा जोड्ने महत्वपूर्ण पुलका रूपमा रहेको उल्लेख गर्दै उनीहरूको सम्मान, सुरक्षा र हकअधिकारको संरक्षण दुवै देशको साझा हितको विषय भएको जनाएको छ ।

कुनै राजनीतिक आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर भारतस्थित सम्पूर्ण नेपाली समुदायको साझा हित, सम्मान र सुरक्षाका लागि आफूहरू क्रियाशील रहेको उल्लेख गर्दै समाजले प्रस्तुत १० बुँदे मागलाई गम्भीरतापूर्वक अध्ययन गरी सम्बन्धित निकायसँग कूटनीतिक छलफल र आवश्यक पहल गर्न राजदूतसमक्ष आग्रह गरेको छ । साथै, राजदूतावास र भारतस्थित नेपाली समुदायबीच नियमित संवाद, सहकार्य र समन्वयको वातावरण निर्माण गर्न आफूहरू तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

सिफारिस

×