
काठमाडौँ । बारामा ट्रकमा माइक्रोबस ठोक्किँदा चार जना घाइते भएका छन् । आइतबार बिहान जितपुर सिमरा उपमहानगरपालिका-१ हुलास नजिक वीरगञ्ज-पथलैया सडकखण्डमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार प्र.२-३-००१ ख ५३६० नम्बरको ट्रक ग्यारेजमा मर्मतपछि जितपुरतर्फ जाने क्रममा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३-००१ ज ०९८५ नम्बरको माइक्रोबस ट्रकमा ठोक्किएको थियो ।
दुर्घटनामा माइक्रोबस चालकसहित चार जना घाइते भएका छन् । माइक्रोबसमा चालकसहित १० जना सवार थिए । घाइते हुनेमा माइक्रोबस चालक बारा परवानीपुर गाउँपालिका-२ मुसहरीका २८ वर्षीय उत्तम साह, पर्सा वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा पोखरीका ६७ वर्षीय राजेन्द्र महतो, दाङ तुलसीपुरका ३७ वर्षीय बुद्धि बस्नेत र वीरगञ्ज महानगरपालिका-१३ श्रीपुरकी ६९ वर्षीया सकुन्तला पौडेल रहेका छन् ।
घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि सिमरास्थित इभर ग्रिन तराई अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।