इन्स्पेक्टरको परिचय दिई सर्वसाधारणबाट दुई लाख असुली गर्ने पाँच जना व्यक्ति पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । आफूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर)भएको परिचय दिँदै प्रहरीको सोधपुछमा रहेका व्यक्तिलाई मुद्दा नचलाई छुटाइदिने प्रलोभन देखाएर दुई लाख रुपैयाँ मागेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका-२ घर भई हाल काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका–१ घर भई काठमाडौंको कपन बस्ने २९ वर्षीय इन्द्रबहादुर भुजेल र पाल्पाको तानसेन नगरपालिका-६ घर भई काठमाडौँको हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट रहेका छन् ।

त्यस्तै, सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका-२ घर भई काभ्रेपलाञ्चोकको बनेपा बस्ने ३० वर्षीय हर्कसिंह भोलन पनि पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित वीरेन्द्र चोकबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंसिर १० गते दिउँसो करिब २ बजे एक व्यक्तिलाई प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाइएको थियो ।

सोही क्रममा दाजुलाई भेट्न प्रहरी प्रभाग पुगेका भाइसँग त्यहाँ भेटिएका केही व्यक्तिले आफूहरू प्रहरी निरीक्षक भएको भन्दै परिचय गराएका थिए । उनीहरूले दाजुविरुद्ध मुद्दा नचलाइदिने र छुटाइदिने व्यवस्था मिलाइदिने भन्दै दुई लाख रुपैयाँ माग गरेको प्रहरीको भनाइ छ । रकम माग गर्नुका साथै उनीहरूले होटल खर्चसमेत तिर्न लगाएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

माग गरिएको रकम दिन अस्वीकार गरेपछि आरोपितहरूले फोन तथा म्यासेजमार्फत विभिन्न किसिमका धम्की दिएको पीडितको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । यसबाट पीडितलाई मानसिक तथा आर्थिक तनाव भएको सूचना प्राप्त भएपछि प्रहरी प्रभाग काँडाघारीको टोलीले अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरी निरीक्षक नेपाल प्रहरीको राजपत्राङ्कित अधिकृत पद हो । प्रहरी ऐन, २०१२ ले प्रहरी कर्मचारीको नियुक्ति र पदसम्बन्धी व्यवस्था गरेको छ । प्रहरीको पद वा हैसियत झूटो रूपमा प्रस्तुत गरी आर्थिक लाभ लिन खोजिएको पुष्टि भएमा त्यसको प्रकृति र प्रमाणअनुसार अन्य कानुनी कसुरसमेत आकर्षित हुन सक्ने देखिन्छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ मा ठगीसम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा (३) को खण्ड (ख) मा आफ्नो नाम, दर्जा, पदवी वा योग्यता ढाँटी ठगी गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

सिफारिस

×