धादिङ बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

दियोपोस्ट संवाददाता

काठमाडौँ । धादिङको रुबीभ्याली गाउँपालिका-४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । चालकसहित नौ जना घाइते भएका छन् भने घाइतेमध्ये ६ जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ।

गए राति करिब १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा रुबीभ्याली गाउँपालिका-४, बोराङ निवासी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको सह-प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

घाइते हुनेहरूमा रुबीभ्याली गाउँपालिका-४ का ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, १४ वर्षीय कमल घले, ३३ वर्षीया मिजोङ तामाङ, २० वर्षीय विमल तामाङ र ४० वर्षीय चेरोङ तामाङ रहेका छन् । यस्तै बोलेरो चालक धादिङको खनियाबास गाउँपालिका-१ निवासी ४० वर्षीय डम्बर तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका-११ निवासी २५ वर्षीय ललित बोम्जन पनि घाइते भएका छन् ।

घाइतेमध्ये आमोष तामाङ, मिजोङ तामाङ र चालक डम्बर तामाङको अवस्था गम्भीर रहेको तथा अन्य घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ । दुर्घटनामा परेको बोलेरो र मृतकको शव हाल घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस