एसेन एनक्याप अवार्ड्स २०२६ मा ‘प्रोटोन ई.मास ७’ लाई ‘सेफ्टी असिस्ट’ विधाको सम्मान

दियोपोस्ट संवाददाता

काठमाडौँ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत नेपाली बजारमा उपलब्ध हुँदै आएको प्रोटोनको विद्युतीय एसयूभी ‘प्रोटोन ई.मास ७’ ले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । मलेसियामा नोभेम्बर १० मा आयोजित ‘एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६’ मा यसले ‘सेफ्टी असिस्ट’ विधाअन्तर्गत सम्मान जितेको हो ।

यो उपलब्धिले ई.मास ७ मा जडान गरिएका उन्नत चालक सहायता प्रविधि तथा सडक सुरक्षाप्रतिको प्रोटोनको प्रतिबद्धतालाई उजागर गरेको कम्पनीले जनाएको छ । विभिन्न सडक र ड्राइभिङ अवस्थालाई लक्षित गरी तयार पारिएको यसको २०२६ मोडलमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट तथा प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्टजस्ता अतिरिक्त सुरक्षा सुविधा थप गरिएका छन्, जसले चालकलाई थप सहजता र सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ ।

सुरक्षा सम्मानसँगै मलेसियाको विद्युतीय सवारी बजारमा पनि ई.मास ७ ले उल्लेखनीय बिक्री कायम गरेको छ । सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा यस मोडलका ५ हजार ५७९ युनिट बिक्री भएका छन्, जसमा अक्टोबर महिनामा मात्रै ६१६ युनिट बिक्री भएका थिए । सोही अवधिमा प्रोटोन ई।मासका सबै मोडल गरी कुल ३५ हजार ७३० युनिट बिक्री भएको तथ्यांक छ ।

प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध यस विद्युतीय एसयूभीमा ३३ वटा स्टोरेज कम्पार्टमेन्ट, बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल टु लोड (भीटुएल) सुविधा तथा भ्वाइस कन्ट्रोल र मनोरञ्जनका लागि ७ एनएम इन्टेलिजेन्ट ककपिट चिप राखिएको छ ।

नेपाली बजारमा प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा ४९ दशमलव ५२ किलोवाट आवर (केडब्लुएच) को ब्याट्री छ, जसले डब्लुएलटीपी  मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ३४५ किलोमिटरसम्मको रेन्ज दिन्छ । त्यस्तै, ५९ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको प्रिमियम भेरियन्टमा ६० दशमलव २२ केडब्लुएच ब्याट्री रहेको छ, जसले ४१० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।

दुवै भेरियन्टमा १०० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने सुविधा छ, जसको मद्दतले करिब २० मिनेटमा ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, यसमा ११ किलोवाटसम्मको एसी चार्जिङ क्षमता समेत उपलब्ध छ ।

अन्तर्राष्ट्रिय सुरक्षा सम्मान, आधुनिक प्रविधि र व्यावहारिक विशेषतासहित प्रोटोन ई.मास ७ ले नेपालको बढ्दो विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै लगेको कम्पनीले जनाएको छ ।