
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी गरेको प्रकरणमा पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मलेसियन सरकारसँग भएको सम्झौताविपरीत श्रमिकबाट रकम संकलन गरी ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो ।
सीआईबीले बुधबार सोही प्रकरणमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।