सवारी दुर्घटनाः पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुर, उदयपुर, सप्तरी, सर्लाही, रौतहट, ललितपुर र बाँकेमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल, स्कुटर, कार, विद्युतीय गाडी (ईभी), ट्रक तथा ई-रिक्सा संलग्न रहेका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ स्थित एचआईडी गेटनजिक महेन्द्र राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई कारमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कात्तिक ७ गते दिउँसो भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौंडा-१३, वनस्पतिका २४ वर्षीय सुकराम लोप्चन गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा हेटौंडास्थित सन्चो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित संगमटोलको भित्री सडकमा स्कुटरले ठक्कर दिँदा पैदल यात्री ५२ वर्षीय नारायणबहादुर कार्कीको मृत्यु भएको छ । कात्तिक ७ गते राति भएको दुर्घटनामा घाइते भएका कार्कीलाई जिल्ला अस्पताल उदयपुर पुर्‍याइएको थियो । उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सप्तरीमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका-११ स्थित झल्की चोकमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका २६ वर्षीय सन्दिपकुमार यादवको गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो । त्यस्तै, शम्भुनाथ नगरपालिका-८ स्थित मिलन चोकमा मोटरसाइकल अनियन्त्रित भई सडकछेउको पिलरमा ठोक्किँदा २२ वर्षीय सुवास चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ स्थित पूर्व-पश्चिम राजमार्गमा ईभी गाडी ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बाराको सुवर्ण गाउँपालिका-४ का ३७ वर्षीय रञ्जित रामको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रौतहटको माधवनारायण नगरपालिका-६, माधोपुरस्थित मानपुर सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार ५० वर्षीया सुनिता देवी पण्डितको मृत्यु भएको छ । कात्तिक ७ गते भएको दुर्घटनामा घाइते भएकी उनलाई गरुडास्थित हेल्थ ल्याण्ड अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

त्यस्तै, ललितपुर महानगरपालिका-४, मानभवनमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री ५० वर्षीया सक्कली तामाङको मृत्यु भएको छ । बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकेमा भएका तीन छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका-१, सौरीस्थित पूर्व-पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका-५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका-२१ स्थित कान्तिताल परिसरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १५ वर्षीय अब्दुल मनिहारको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको भेरी अस्पताल, नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसै गरी, कोहलपुर नगरपालिका-११ स्थित नयाँ बसपार्कमा ई-रिक्सा अनियन्त्रित भई पर्खालमा ठोक्किँदा चालक ३८ वर्षीय हरि राम थारुको मृत्यु भएको छ । घाइते थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सात जिल्लामा भएका यी दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित खबर

सिफारिस