
काठमाडौँ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको पहिलो चरण कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दसैँ बिदाका कारण कार्यक्रमको मिति परिवर्तन गरिएको हो ।
यसअघि कात्तिक २ र ३ गते कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको थियो ।
कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ ।
महाशाखाले अभिभावकलाई निर्धारित मितिमा आफ्ना बालबालिकालाई स्वास्थ्य संस्थाले तोकेको वितरण केन्द्रमा लगेर भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।