कोजाग्रत पूर्णिमासँगै १५ दिन लामो बडादसैँ पर्व आज सम्पन्न हुँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमा मनाउँदै समापन गरिँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा छ ।

दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको १५ दिन लामो बडादसैँ पर्व कोजाग्रत पूर्णिमासँगै औपचारिक रूपमा समाप्त हुन्छ । यससँगै विजयादशमीदेखि सुरु भएको मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम पनि अन्त्य हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रीय विधिअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्यसमेत आजै सम्पन्न हुन्छ। दसैँमा दुर्गाको प्रसादस्वरूप ग्रहण गरिएको जमरालाई आज नजिकैको नदी, तलाउ, पोखरीलगायत पवित्र तीर्थस्थलमा विसर्जन गर्ने चलन छ ।

समितिका अध्यक्ष सहप्राध्यापक पुरुषोत्तम भट्टराईका अनुसार कोजाग्रत पूर्णिमाको साँझ महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा धार्मिक विश्वासमा आधारित छ । धार्मिक मान्यताअनुसार यस रात पृथ्वीको भ्रमणमा निस्कने महालक्ष्मी जाग्राम बसेका मानिसको घरमा प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन् भन्ने विश्वास गरिन्छ ।

माता दुर्गाका तीन प्रमुख रूपमध्ये एक महालक्ष्मीको पूजा आराधना गरेर यस दिन दुर्गा पक्षलाई बिदाइ गरिन्छ। नवरात्र विजयादशमीकै दिन समाप्त हुने भए पनि समग्र दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमासँगै अन्त्य हुने धार्मिक मान्यता छ ।

लक्ष्मीपूजाभन्दा १५ दिनअघि नै महालक्ष्मीको विशेष आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमाको धार्मिक महत्त्व रहेको छ। यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ । यस दिन राति जुवा खेल्ने परम्परासमेत रहेको अध्यक्ष भट्टराईले बताए । महालक्ष्मीका साथै हात्तीमा सवार देवराज इन्द्रको पनि पूजा गर्ने विधान छ ।

यसैबीच, कार्तिक स्नान तथा तुलसीको विशेष पूजा आराधना भने कात्तिक ९ गते सोमबारदेखि सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ। त्यसै दिनको साँझदेखि आकाशदीपदान गर्ने परम्परासमेत सुरु हुनेछ ।