
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेनलाई अनुबन्ध गरेको छ । ३१ वर्षीय एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङ थप मजबुत हुने अपेक्षा गरिएको छ ।
बायाँहाते ब्याटर तथा स्पिन बलर एलेन टी-२० क्रिकेटका अनुभवी खेलाडी हुन् । आक्रामक ब्याटिङका लागि परिचित उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् ।
एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीय क्रिकेटमा उनले २०० रन बनाउनुका साथै सात विकेट लिएका छन् । यस्तै, टी-२० अन्तर्राष्ट्रियमा उनको नाममा २९८ रन र २४ विकेट छ ।
समग्र टी-२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै १ हजार ६३४ रन बनाएका छन् भने १०९ विकेट लिएका छन् । यस प्रारूपमा उनको ब्याटिङ स्ट्राइक रेट १३९.८९ रहेको छ। उनले टी-२० क्रिकेटमा १०६ छक्का प्रहार गरिसकेका छन् ।
एलेनले सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए । सन् २०१८ मा भारत भ्रमणका क्रममा उनले वेस्ट इन्डिजको एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । व्यक्तिगत कारणले सन् २०२२ को सुरुवातमा क्रिकेटबाट केही समय टाढिएका उनी सोही वर्षको अगस्टमा पुनः खेलमा फर्किएका थिए ।
पुनरागमनपछि वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट सीमित अवसर पाए पनि एलेनले विभिन्न देशका फ्रेन्चाइज लिगमा निरन्तर सहभागिता जनाउँदै आएका छन् । उनले क्यारेबियन क्षेत्रका साथै संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका टी-२० लिगमा खेलेका छन् ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको समग्र प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
‘फेबियन एलेन अनुभवी टी-२० खेलाडी हुन् । उनको अलराउन्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ । विशेषगरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ,’ खड्काले भने ।
यता, टोलीमा अनुबन्ध भएपछि एलेनले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले नेपाल आएर प्रतियोगितामा सहभागी हुन र टोलीको सफलतामा योगदान दिन आफू उत्साहित रहेको बताएका छन् ।
‘सुदूरपश्चिम रोयल्सको हिस्सा बन्न पाउँदा खुसी छु । नेपालमा आएर एनपीएल खेल्न र टोलीको सफलतामा योगदान दिन उत्साहित छु । समर्थकहरूका अगाडि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु,’ एलेनले भने ।