सुनको मूल्यमा भारी गिरावट, एक सातामा ११ हजार ७ सय रुपैयाँ घट्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एक सातामा प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको छ। दसैँ बिदापछि आइतबार बजार खुलेसँगै सुनको मूल्यमा ठूलो गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको हो । यसअघि असोज ३० गतेको कारोबारमा सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २३० रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको छ । यसअघि चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा विश्व अर्थतन्त्रसँग सम्बन्धित घटनाक्रमले सुनको मूल्यलाई प्रभावित पार्न सक्ने बताइएको छ ।

सुनको मूल्यमा आएको पछिल्लो गिरावटपछि बजारको आगामी दिशा कस्तो रहने भन्ने विषयमा उपभोक्ता र व्यवसायी दुवैको चासो बढेको छ । अन्तर्राष्ट्रिय बजारको अवस्था र विनिमय दरमा हुने परिवर्तनले आगामी दिनमा नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

सिफारिस