बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, चालकसहित ४ घाइते

दियोपोस्ट संवाददाता

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका-३ मा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने चालकसहित ४ जना घाइते भएका छन् । पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा जगन्नाथ गाउँपालिका-३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, गम्भीर घाइते भएकी सोही ठाउँकी ५२ वर्षीया रामशरा देवी सिंहको कोल्टीस्थित आधारभूत अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक सिंहको शव अस्पतालको शवगृहमा राखिएको छ ।

दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका-४ का २१ वर्षीय नवीन बोहरा तथा बाजुराको जगन्नाथ गाउँपालिका-३ मनिकाँडाका ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड र २२ वर्षीया संगीता शाही घाइते भएका छन् । घाइते चारै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 

सम्बन्धित खबर

सिफारिस

×