
ललितपुर । बालविवाह अन्त्यका लागि सञ्चारमाध्यम, सरकारी निकाय, समुदाय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।
बालविवाह, कम उमेरमा हुने तथा जबरजस्ती गरिने विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २७) का अवसरमा ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बालविवाह रोकथामका लागि सबै पक्ष सक्रिय हुनुपर्ने बताएका हुन् ।
सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश, भ्वाइस अफ चिल्ड्रेन र जस्ट राइट्स फर चिल्ड्रेनको संयुक्त आयोजनामा ‘बालविवाह अन्त्यका लागि सञ्चारकर्मी तथा सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्रदेश सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बालविवाह न्यूनीकरणका लागि सञ्चारकर्मीले सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउन र अभियानमा सक्रिय सहभागिता जनाउनुपर्ने बताइन् ।
राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बालविवाह रोकथामका लागि बनेका नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृत मधु सुनामले आयोगले बालविवाहसम्बन्धी राष्ट्रिय जाँचबुझ गरिरहेको र प्रतिवेदन सरकारसमक्ष पेस गर्ने तयारी भइरहेको जानकारी दिए ।

बालविवाहका समाचार प्रकाशन गर्दा घटनामा मात्र सीमित नभई कारण, प्रभाव, रोकथामका उपाय र बालबालिकाका आवाजलाई प्राथमिकता दिनुपर्ने सहभागीहरूले बताए । जिम्मेवार पत्रकारिताले सामाजिक मान्यता परिवर्तन गर्न र सम्बन्धित निकायलाई जवाफदेही बनाउन सहयोग गर्ने उनीहरूको भनाइ थियो ।
बालविवाहले शिक्षा, स्वास्थ्य, सुरक्षा र बालबालिकाको समग्र विकासमा असर पार्ने भन्दै सहभागीहरूले यसलाई सामाजिक सोच, गरिबी, लैङ्गिक विभेद र पारिवारिक दबाबसँग जोडिएको बालअधिकारको विषयका रूपमा लिनुपर्ने बताए ।
भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले कानुन कार्यान्वयन, शिक्षामा निरन्तरता, जोखिममा रहेका बालबालिकाको पहिचान तथा संरक्षण र बालबालिकाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए । उनले बालविवाह रोक्न परिवार, समुदाय र राज्यबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
कृति भट्टराईले सहजीकरण गरेको कार्यक्रममा सरकारी प्रतिनिधि, सञ्चारकर्मी, बालबालिका, किशोरकिशोरी तथा विभिन्न सरोकारवालाको सहभागिता थियो । कार्यक्रममा सहभागीहरूले बालविवाह नगर्ने, नगराउने र यसको अन्त्यका लागि आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका थिए ।