
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश उमेशप्रसाद मैनालीको इजलासले प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले प्रसाईंलाई असोज १२ गते पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रसाईं पक्राउ परेका थिए । खतिवडा जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा हुन् । प्रसाईंले शहीद रसिकलाई लिएर सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोपमा उजुरी परेको थियो।
प्रसाईं यसअघि पनि साइबर अपराध, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरलगायत अभियोगमा पक्राउ पर्दै आएका छन्। अदालतको आदेशपछि उनी पटक-पटक धरौटीमा रिहा भएका छन् ।