विगतका वर्षहरूमा पनि जुत्ताहरू अलि-अलि मिल्दाजुल्दा देखिन्थे, तर यस विश्वकपमा त सबै ब्रान्डको रङ दुरुस्तै एउटै छ। के यस्तो हुनु संयोग मात्रै थियो ?
एजेन्सी- आगामी जुलाई १९ मा मेटलाइफ स्टेडियममा विश्वकपको ट्रफी विजेता टोलीका कप्तानको हातमा थमाइनुअघि, प्रतियोगिताकै उत्कृष्ट गोलकर्तालाई चम्किलो ‘गोल्डेन बुट’ पुरस्कार प्रदान गरिनेछ। तर, जारी खेलको माहोल र मैदानको रङ हेर्दा त्यो अवार्डको नाम ‘गोल्डेन बुट’ होइन, ‘पिङ्क (गुलाबी) बुट’ राख्नुपर्ने जस्तो देखिन्छ।
यो असारमासको गर्मीमा अमेरिका, क्यानडा र मेक्सिकोले अन्जानमै एउटा चम्किलो ‘गुलाबी विश्वकप’ (फ्युसिया) को आयोजना गरिरहेका छन्। उद्घाटन खेलदेखि नै मैदानमा जताततै विभिन्न शेड्सका चम्किला गुलाबी जुत्ताहरू मात्रै देखिएका छन्- फ्लोरोसेन्ट गुलाबी, गाढा गुलाबी, र फ्युसिया गुलाबी।

पहिले सधैँ यस्तो हुँदैनथ्यो। लामो समयसम्म फुटबलमा गुलाबी बुटहरू केवल ‘अराजक र विद्रोही खेलाडीहरू’का लागि मात्र सुरक्षित राखिएको मानिन्थ्यो, जो मैदानमा खेलबाहेक आफ्नो रूपले पनि सबैको ध्यान आफूतिर तान्न चाहन्थे। नाइकी मर्कुरियलको सुरुवाती जमाना सम्झिनुस्, जब निक्लास बेन्डनर र पछि नेयमार जस्ता स्टारहरूले चम्किला बुटहरूलाई आफ्नो खेलको ‘शो’ (प्रदर्शन) कै एउटा हिस्सा बनाएका थिए।
यदि तपाईँ आजभन्दा २० वर्षअघि गुलाबी बुट लगाएर मैदान उत्रनुभएको भए, तपाईँ त्यहाँ केवल आफ्नो धाक जमाउन आउनुभएको अर्थ लाग्थ्यो। तर अहिले? अहिले त मैदानका सबै-सबै खेलाडीले यही गरिरहेका छन्।
यो ट्रेन्ड खेलको पहिलो दिनदेखि नै सुरु भएको थियो। मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलमा मैदान छिरेका २२ जना सुरुवाती खेलाडीमध्ये मात्र ३ जनाबाहेक सबैका खुट्टामा कुनै न कुनै रूपमा गुलाबी रङकै जुत्ता सजिएका थिए।
यो फेसन त्यत्तिकै रोकिएको छैन। काइलियान एमबाप्पे र एर्लिङ हालान्ड जस्ता विश्वका सुपरस्टारदेखि लिएर केप भर्डे र कुरासाओ जस्ता साना राष्ट्रका खेलाडीहरूले समेत मैदानमा यही गुलाबी रङको जुत्ता रोजेका छन्।

सन् २०२६ को विश्वकप सुरु हुनुअघि, खेलकुद सामग्री उत्पादक लगभग हरेक ठूला ब्रान्डहरूले यही रङको वरिपरि रहेर आ-आफ्नो विशेष विश्वकप कलेक्सन बजारमा ल्याए। नाइकीले मे महिनाको अन्त्यतिर आफ्नो ‘ब्रेकआउट प्याक’ सार्वजनिक गर्यो। एडिडासले खेल सुरु हुनु ठीक केही दिनअघि ‘रोड टु ग्लोरी प्याक’ ल्याएर त्यसैलाई पछ्यायो। पुमा आफ्नो ‘शो-टाइम प्याक’ लिएर आयो भने न्यू ब्यालेन्सले ‘प्योर एम्बिसन प्याक’ बजारमा उतार्यो। नामहरू फरक थिए। प्रविधिहरू फरक थिए। तर सबैको रङ भने आँखा तिर्मिर्याउने खालको उही गुलाबी थियो। आखिर किन सबैजना अचानक गुलाबी फुटबल बुटको पछि हत्ते हालेर लागेका छन् त?
‘न्यू ब्यालेन्स’का फुटबल उत्पादन प्रमुख रोब शेल्डनका अनुसार यसको कारण अलि फरक छ।
पहिलो कुरा, यस्ता चम्किला रङहरूले दृश्यता (भिजिबिलिटी) बढाउँछन्। यसले खेलको मैदानभित्रको भिडभाडमा खेलाडीहरूले एकअर्कालाई सजिलै चिन्न मात्र मद्दत गर्दैन, बरु खेल हेरिरहेका लाखौँ-करोडौँ प्रशंसकहरूको ध्यान सिधै ब्रान्डको ‘लोगो’तर्फ आकर्षित गर्छ।
त्यो कसरी पनि भने- अचेल फुटबल हेर्ने तरिका पहिलेको भन्दा विल्कुलै बदलिएको छ। खेलहरू केवल ठूला टिभी स्क्रिनमा मात्र हेरिँदैनन्, बरु मोबाइल फोन, ट्याब्लेट, टिकटक र भिडियोका छोटा हाइलाइटहरूमा बढी खपत भइरहेका छन्। यदि तपाईँले खेलाडीहरूलाई स्पन्सर गर्न करोडौँ रुपैयाँ खर्च गरिरहनुभएको छ भने, तपाईँ आफ्नो पछिल्लो बुट मैदानमा तुरुन्तै चम्कियोस् भन्ने चाहनुहुन्छ। एउटा मनोवैज्ञानिक कारण यो पनि हुन् सक्छ। गुलाबी रङले हरियो घाँसको विपरित कडा कन्ट्रास्ट दिन्छ र टिभीमा, रङ्गशालाको फ्लडलाइट मुनि तथा स्लो-मोसन रिप्लेहरूमा पनि एकदमै स्पष्ट देखिन्छ। त्यसोभए के कारण यही मात्र हो त? अहँ, अलि पर्खनुस्, कुरा यत्तिमै सकिँदैन।

यसमा एउटा चाखलाग्दो सत्य लुकेको छ। फुटबल एक प्रकारको ‘जातिय वा समूहगत कुरा’ पनि हो। फरक देश, फरक क्लब, फरक शत्रुता। तर यो एउटा गर्मीयामका लागि, पूर्ण रूपमा फरक पृष्ठभूमिबाट आएका खेलाडीहरूले पनि मूलतः एउटै रङको बुट लगाइरहेका छन्। सायद गुलाबी रङले पहिले बोक्ने गरेको ‘नकारात्मक वा विद्रोही’ छवि अहिले गुमाइसकेको छ। २० वर्षअघि यो रङ लगाउनु विद्रोही हुनु जस्तो लाग्थ्यो, तर आज यसले सबैलाई एक ठाउँमा ल्याउने रङको रूप लिएको छ।
अर्कोतर्फ, आधुनिक फुटबल स्टारहरू आफैँमा एउटा व्यक्तिगत ब्रान्ड हुन्। यस विश्वकपमा खेलिरहेका ‘न्यू ब्यालेन्स’का मात्रै पाँच जना ब्रान्ड एम्बेसेडरहरू: एबेरेची एजे (इङ्ल्यान्ड), बुकायो साका (इङ्ल्यान्ड), एन्ड्रिक (ब्राजिल), तिमोथी वेह (अमेरिका) र यान डियोमन्डे (आइभोरी कोस्ट) को कुल इन्स्टाग्राम फलोअर्स जोड्ने हो भने ३ करोड २० लाखभन्दा बढी पुग्छ। यस्तो अवस्थामा मैदानभित्र आफ्नो आत्मविश्वास र व्यक्तित्व झल्काउनु नै बुट डिजाइनको एउटा मुख्य हिस्सा बनेको छ।
“तपाईँले यस विश्वकपमा दुईवटा ट्रेन्डको सुन्दर मिलन देखिरहनुभएको छ,” शेल्डनले सीएनएन स्पोर्ट्ससँग भने। “खेलाडीहरू मैदानमा उत्कृष्ट प्रविधि र क्षमता भएको जुत्ता पनि चाहन्छन् र सँगसँगै आफ्नो व्यक्तिगत शैली र पहिचान झल्काउने उत्पादन पनि खोज्छन्।”
मानिसहरू यसलाई संयोग मात्र भन्छन्, तर यस्तो धेरै पटक भइसकेको छ,” दुर्लभ र क्लासिक फुटबल जुत्ताहरू खोज्नमा विशेष दख्खल राख्ने र विश्वकपकै कयौँ खेलाडीहरूलाई जुत्ता आपूर्ति गर्ने ‘बिडब्ल्यु बुट्स युकेका संस्थापक बेन वारेनले द एथलेटिकसँग भन्छन्, “फरक-फरक ब्रान्डहरूले लगभग एउटै रङमा जुत्ताहरू बजारमा ल्याइरहेका छन्। विगतका वर्षहरूमा पनि जुत्ताहरू अलि-अलि मिल्दाजुल्दा देखिन्थे, तर यस विश्वकपमा त सबै ब्रान्डको रङ दुरुस्तै एउटै छ।”
जुत्ताको विकास र परीक्षणका क्रममा गुलाबी रङ अरूभन्दा धेरै खँदिलो र प्रष्ट देखिने कुरा नाइकीले पत्ता लगाएको थियो। मैदानको परीक्षणमा गुलाबी रङ जत्तिको आकर्षक अरू कुनै रङ देखिएन।
नाइकीको ग्लोबल फुटबल फुटवेयर टोलीका वरिष्ठ अधिकारी ओदिङ्गा निमाकोका भन्छन्, “तपाईँ रङ्गशालाको प्यारापिटमा बसेर हेर्नुस् वा घरमै टिभीमा, मैदानको हरियो घाँसको विपरित गुलाबी रङ निकै प्रष्टसँग उम्किएर देखिन्छ । यस विश्वकपमा हामीले यही दृश्य प्रभावमा बढी ध्यान दिन चाहेका थियौँ।”
यस गुलाबी ट्रेन्डलाई अझ बढी आकर्षण दिने अर्को कुरा के हो भने, यस विश्वकपमा कुनै पनि टोलीको मुख्य जर्सी गुलाबी रङको छैन (बेल्जियमको एडिडास अवे जर्सी अलि नजिक हुन सक्छ)। जुत्ता डिजाइन गर्दा यो कुरालाई पनि ध्यानमा राखिएको थियो।
“हाम्रो मुख्य उद्देश्य नै जुत्ताको रङ खेलाडीको जर्सीभन्दा एकदमै फरक र स्पष्ट देखियोस् भन्ने थियो,” निमाकोले स्पष्ट पारे, “हरेक प्रतियोगितामा हामी अलि फरक रणनीति अपनाउँछौँ। विगतमा हामी जर्सीसँग मिल्दो जुत्ता बनाउँथ्यौँ, तर यसपटक विश्वकपको गरिमा र विशालतालाई ध्यानमा राख्दै जुत्ता मैदानमा छ्याङ्गै चम्कियोस् भन्ने हाम्रो चाहना थियो।”

न्यू ब्यालेन्सको यो भनाइसँग उनीहरूका प्रतिस्पर्धी ‘नाइकी’ का अधिकारीहरू पनि सहमत छन्। नाइकीका अनुसार पनि खेलाडी र उपभोक्ता दुवैतर्फबाट अलि बोल्ड र चम्किला रङहरूको माग बढेको छ।
नाइकी फुटबल फुटवेयरका प्रोडक्ट म्यानेजमेन्ट डिरेक्टर ओदिङ्गा निमाकोले द एथलेटिक सँग भने, “हामीले जुत्ता डिजाइन गर्दा सबैभन्दा चम्किला रङहरू कुन हुन् र कुन रङले खेलाडीको आत्मविश्वासलाई अझ बढाउँछ भन्ने कुरामा ध्यान दियौँ, र गुलाबी त्यस्तै एउटा रङ हो। हामीले सधैँ खेलाडीहरूबाट के सुन्ने गर्छौँ भने,जब तपाईँ गुलाबी जस्तो यति चर्को र चम्किलो रङ लगाउनुहुन्छ, तब तपाईँको खेल पनि त्यत्तिकै उत्कृष्ट हुन जरुरी छ। यसका साथै, अचम्मको कुरा त गुलाबी रङलाई अहिले धेरैले सहजै स्विकारेका छन्, जसले गर्दा यो कुनै खास वर्गको लागि मात्र सीमित नभएर आम मानिसको रोजाइ बनेको छ।”
यद्यपि, शेल्डन के दाबी गर्छन् भने बुटको डिजाइन गर्दा कहिल्यै पनि बनोट र गुणस्तरभन्दा माथि स्टाइललाई राखिँदैन।
उनले थपे, “कुनै पनि खेलाडी रङको लोभमा मात्रै विश्वकपको मैदानमा उत्रिँदैन। उनीहरू मैदानमा उत्रनुको कारण त्यो बुटले उनीहरूलाई उच्च स्तरको प्रदर्शन गर्न मद्दत गर्छ। रङ त्यो उत्पादनको भित्री कथाको सबैभन्दा बाहिर देखिने अंश मात्र हो।”

अर्सकोम्भावित व्याख्या भने अलि कम रोमान्टिक र बढी व्यावसायिक छ। यहाँ प्रवेश हुन्छ ‘डब्लुजीएसएन‘ को, जुन विश्वकै सबैभन्दा ठूलो फेसन र उपभोक्ता ट्रेन्ड भविष्यवाणी गर्ने एजेन्सी हो। फेसन ब्रान्डहरू, खेलकुद कम्पनीहरू र ठूला व्यापारीहरूले उत्पादनहरू बजारमा आउनुभन्दा वर्षौँ पहिले नै उपभोक्ताहरूले के चाहन्छन् भन्ने कुराको अनुमान लगाउन यसकै प्रतिवेदनहरू पढ्ने गर्दछन्।
सन् २०२४ को मे महिनामै, उपभोक्ता ट्रेन्डको भविष्यवाणी गर्ने संस्था डब्लुजीएसएनले सन् २०२६ मा प्रमुख हुने पाँचवटा रङहरूको सूची सार्वजनिक गरेको थियो। जसमा ‘ट्रान्सफर्मेटिभ टिल’ रङपछि दोस्रो स्थानमा गुलाबी र बैजनीको बीचमा पर्ने एउटा आकर्षक र नशालु रङ थियो- इलेक्ट्रिक फ्युसिया (चम्किलो गुलाबी)।
यो कुरा किन महत्त्वपूर्ण छ भने, फुटबल बुटहरू विश्वकप सुरु हुनुभन्दा ६ महिना अघि मात्रै डिजाइन गरिँदैनन्। यो प्रक्रिया सुरु हुन दुई वर्ष वा सोभन्दा बढी समय लाग्न सक्छ। त्यसैले विश्वकप आइपुग्दा, डिजाइनरहरूले उत्पादनको स्केच बनाउन, स्याम्पल तयार पार्न, परीक्षण गर्न र त्यसलाई परिष्कृत गर्न वर्षौँ बिताइसकेका हुन्छन्।
उपभोक्ताहरूमा आएको आशावाद, स्पष्ट दृश्यता र आत्म-अभिव्यक्तिको परिवर्तनलाई ध्यानमा राखेर गरिएको डब्लुजीएसएनको त्यो भविष्यवाणी अहिले खेलकुदको सबैभन्दा ठूलो मञ्चमा सत्य साबित भएको छ। कम्पनीका अनुसार, बजारमा उपलब्ध गुलाबी जुत्ताहरूमध्ये चम्किलो गुलाबी रङले ४८.२% हिस्सा ओगटेको छ।
डब्लुजीएसएनकी डाटा एसोसिएट म्याडेलिन चान्टले भनिन्, “खेलाडीहरूले नै नेतृत्व गर्ने खेलकुदको यस अर्थतन्त्रमा, रङ अब व्यापारिक मुद्रा बनेको छ। यसले उत्पादनलाई सजाउने मात्र काम गर्दैन; बरु बुट, खेल जर्सी र अन्य सामग्रीहरूलाई एउटा सांस्कृतिक पहिचानमा बदल्छ।”
के सबै जुत्ता निर्माता कम्पनीहरू एउटै विचारको स्रोतबाट प्रभावित भएका हुन् त? नाइकी, एडिडास र रिबोक जस्ता ठूला कम्पनीमा लामो समय वरिष्ठ जुत्ता डिजाइनरको रूपमा काम गरिसकेका प्रख्यात डिजाइनर क्रिस्टियन ट्रेसेरका अनुसार यो हुनु स्वाभाविक हो।
उनले यसै साता ब्रिटिस जिक्युसँग भनेका छन्, “जब बजार व्यवस्थापनर ट्रेन्ड विश्लेषण गर्नेहरूले एउटै स्रोत र तथ्याङ्कको प्रयोग गर्छन्, तब यस्तै परिणाम आइदिन्छ।”
अनि अर्को कुरा के पनि हो भने, सन् २०२६ मा गुलाबी रङ जताततै छ्यापछ्याप्ती छ। त्यसैले सायद यसको जवाफ फुटबलसँग मात्र जोडिएको छैन। फुटबल बुटहरूले त संसारभर फेसनमा जे भइरहेको छ, त्यसैलाई मैदानमा उतारेका मात्र हुन्।

कारण जेसुकै भए पनि, यसको नतिजा भने अलि अचम्मको छ। जब मैदानमा धेरैजसो खेलाडीहरूले गुलाबी रङकै बुट लगाउँछन्, तब गुलाबीबाहेकका अन्य रङ लगाउने खेलाडीहरू झनै प्रष्ट र फरक देखिनेछन्।
अर्जेन्टिनाका महान् खेलाडी लियोनेल मेस्सीले अरूभन्दा बढी ध्यान तान्नु त स्वाभाविक नै थियो, तर उनले सुरुवाती खेलमै अल्जेरिया विरुद्ध सानदार तीन गोल (ह्याट्रिक) गर्दै गोल्डेन बुटको दौडमा अग्रता लिए। उनले यस विश्वकपमा आफ्नै देशको झण्डाको रङ (आकासे निलो र सेतो) सँग मिल्ने र आफ्नो देशको प्रसिद्ध नृत्यको नाम जोडिएको एडिडासको विशेष जुत्ता ‘एल अल्टिमो ट्याङ्गो’ लगाएका छन्।

त्यस्तै, अमेरिकी कप्तान क्रिस्टियन पुलिसिकले पनि पराग्वेविरुद्ध ताराहरू अंकित यस्तै आकासे रङकै पुमा ब्राण्डको आफ्नै सिग्नेचर जुत्ता लगाएका थिए।
यद्यपि, मेस्सी र पुलिसिक जस्ता केही अपवादलाई छाड्ने हो भने, यस विश्वकपमा धेरैजसो स्टार खेलाडीहरूका लागि फुटबल मैदान एउटा ‘गुलाबी संसार’ जस्तै बनेको छ।
यसैगरि, फिफाले रेफ्री र अफिसियलहरूका लागि परम्परागत कालो रङकै जुत्ता अनिवार्य गरेको छ, जुन फिफाको आधिकारिक स्पन्सर एडिडासले बनाएको हो।
जे होस्, यदि अर्को विश्वकप आउँदा सबै खेलाडीहरू अचानक चम्किलो कागती हरियो (Electric lime green) रङको बुट लगाएर मैदान उत्रिए भने अचम्म नमान्नुहोला। किनभने कतै न कतै, कुनै कोठामा बसेर, कुनै ट्रेन्ड विश्लेषकले अहिले नै त्यसको भविष्यवाणी गरिसकेको प्रतिवेदन तयार पारिरहेको हुन सक्छ!

प्रस्तुत लेख अन्तर्राष्ट्रिय खेलकुद समाचार माध्यमहरू ‘द एथलेटिक’ र ‘सीएनएन स्पोर्ट्स’ तथा फेसन ट्रेन्ड एजेन्सी ‘डब्ल्युजीएसएन’ र ‘ब्रिटिस जिक्यु’को विशेष रिपोर्टका आधारमा तयार पारिएको हो।