काठमाडौं । राजधानी प्रवेश गर्ने विभिन्न नाकाहरु मध्ये पर्दछ फर्पिङ । सोही नाकामा नेपाल प्रहरीको इन्सपेक्टरको टोली परिचालन गरिएको हुन्छ । नाकाबाट हुने तस्करी, बहुमुल्य बस्तु नियन्त्रण र राजश्व अनुसन्धान विभाग समक्ष दायर गर्नु प्रहरीको दायित्व हो । तरप, सोही नाकाको नेतृत्व सम्हालेका ईन्सपेक्टरले बरामद भएको बहुमुल्य हिरा व्यापारीलाई बुझाएको खुलाशा भएको छ ।
सोमबार फर्पिङ नाका फेला परेको लाखौँ मुल्यको हिरा भारतीय व्यापारीलाई बुझाएर इन्सपेक्टर गणेश सापकोटाले ठूलो गुन लगाएका छन् ।
गोप्य सुचनाको आधारमा सापकोटा नेतृत्वको टोलीले हिरा बरामद गरेको थियो । तर, सो हिरा केहीबेरमै तस्करलाई फिर्ता गरेको पाइएको हो । स्रोतका अनुसार ती भारतीय व्यापारीले ईन्सपेक्टर सापकोटाको चित्त बुझाएर हिरा फिर्ता लिएका थिए । जबकी प्रहरीले त्यस्ता मालबस्तु फेला पारे तत्काल परिक्षण गरि राजश्व अनुसन्धान विभागमा दाखिला गर्नुपर्छ । राजश्व अनुसन्धान विभागले त्यस्ता व्यापारीलाई राजश्व छलीमा मुद्दा दायर गर्दछ ।
सापकोटाले हिरा छाडिदिएपछि मातहतकै प्रहरीहरु समेत छक्क परेका छन् । प्रहरीले हिरा बरामद गरेपछि व्यापारीहरुमा खैलाबैला मच्चिएको थियो । तर, केहीबेरमै फिर्ता भएपछि त्यहाँ कार्यरत प्रहरी ईन्सपेक्टरको व्यावसायीक क्षमतामा समेत प्रश्न उठेको छ । स्रोतका अनुसार प्रहरी हिरा बरामद गरेपछि राजश्व अनुसन्धान विभागमा पठाउने धम्की समेत दिएको थियो । तर, व्यापारीले त्यही धम्कीलाई बार्गेनिङको रुपमा बुझेर मोटो रकम बुझाएको स्रोत बताउँछ ।
हिरा फिर्ता भएपछि त्यहाँ कार्यरत इमान्दार प्रहरी कर्मचारी समेत असन्तुष्ट बनेका छन् । हिरा फिर्ता भएको विषयमा प्रश्न गर्न सापकोटालाई दियोपोस्टले टेलिफोन गर्दा उनले फिर्ता गरेको स्विकार गरे । तर, उक्त वस्तु हिरा नै हो भन्ने प्रमाणित नभएको उनको भनाई छ । उनकै भनाई अनुसार उक्त हिरा सुनचाँदी तथा अभुषण महासंघमा परिक्षण समेत भएको थिएन । ‘भारतीय व्यापारी रहेछन् । उनीहरुले बहुमुल्य हिरा गाडीमा के ल्याउँथे । म त ड्युटीमा थिइन । मलाई केटाहरुले नै भनेका हुन् । मैले फोन गरेरै छोड्न भनिदिएको हुँ । त्यस्तो बहुमुल्य बस्तु कसले गाडीमा ल्याउँछ,’ उनले भने ।
स्मरणीय छ, इन्स्पेक्टर गणेश सापकोटा यसअघि रसुवामा कार्यरत रहँदा पनि सुन ओसारपसार प्रकरणमा विवादीत मानिन्थे ।