
एजेन्सी- शनिबारको साँझ छ। तपाईंले फोनमा खाना मगाउने एउटा नयाँ एप डाउनलोड गर्नुभयो। मेनु हेरेर आफ्नो मनपर्ने मेक्सिकन खाना रोज्नुभयो, अर्डर थिच्नुभयो र अब खाना कहाँ आइपुग्यो भनेर हेर्दै हुनुहुन्छ। तर, तपाईंको खाना कहिल्यै आउँदैन। र, तपाईं आफैँलाई पनि त्यो आउँछ भन्ने आशा थिएन!
यदि तपाईंले यो कहिल्यै प्रयोग गर्नुभएको छैन भने सुन्दा अनौठो लाग्न सक्छ। तर अचेल यो निकै भाइरल भइरहेको छ। ‘फुडनेभरकम्स’ (FoodNeverComes) नामको एउटा एपले मात्रै हालसम्म १० लाख मानिसको ‘खानाको तृष्णा मेटाएको’ दाबी गर्छ।

सामान कहिल्यै नआउने भन्ने थाहा हुँदाहुँदै मानिसहरू किन यस्ता एप वा वेबसाइटमा समय बिताउँछन् त? यसको सोझो उत्तर हो- दिमागलाई क्षणिक खुसी (डोपामाइन) दिनका लागि।
पैसा नतिरीकनै अनलाइनमा खाना, लुगा वा अन्य सामान किन्न पाइने भएकाले धेरैलाई यो एउटा हानिरहित रमाइलो खेल जस्तै लाग्छ। तर, यी एपहरू चलाउन एक रुपैयाँ नलागे पनि यसका केही नराम्रा असरहरू छन्। जस्तै, तपाईंको रोजाइको फाइदा उठाएर विज्ञापनदाताहरूले वास्तविक जीवनमा तपाईंलाई सामान बेच्ने जाल बुन्न सक्छन्।
‘फुडनेभरकम्स’ त एउटा उदाहरण मात्रै हो। यस्ता अरू पनि धेरै नक्कली एप र वेबसाइटहरू छन्।
डोपामाइन शप (Dopamine Shop) अर्को एउटा नक्कली सपिङ साइट हो। यहाँ १०० रुपियाँको ढुङ्गादेखि लिएर ९ अर्ब रुपियाँको चन्द्रमासम्म सामान कार्टमा राख्न पाइन्छ। तर, न त यहाँ पैसा तिर्नुपर्छ, न त कुनै सामान नै घरमा आउँछ।

यस्तैगरि, भर्चुअल स्मोक (Virtual Smoke) पनि रहेको छ। यो नक्कली चुरोट तान्ने एप हो। चुरोट नखाईकनै, कुनै असर बिना चुरोट तानेको जस्तै अनुभव लिन र तनाव घटाउन यो बनाइएको दाबी गरिन्छ। एप्सको अनुसार, भर्चुअल स्मोक एउटा यथार्थपरक चुरोटको सिमुलेसन एप हो जसले तपाईंलाई कुनै पनि निकोटिन वा हानिकारक प्रभावहरू बिना चुरोट पिउने रूप, अनुभूति र आरामको आनन्द लिन दिन्छ। चुरोट छाड्न खोज्ने, तनाव घटाउन खोज्ने वा भर्चुअल चुरोटसँग रमाइलो गर्न चाहनेहरूका लागि यो एकदमै उपयुक्त छ।
यी नयाँ प्लेटफर्महरूलाई डोपामाइन एप्स वा डोपामाइन साइट्सको रूपमा चिनिन्छ। यिनीहरूको सुरुवात दक्षिण कोरियाबाट भए पनि, रोचक कुरा के छ भने, ‘डोपामाइन शप’ अमेरिकाको एउटा सानो स्वतन्त्र स्टुडियो ‘फेनविक होल्डिंग्स एलएलसी’को स्वामित्वमा छ र उसैले विकसित गरेको हो।
यी उदाहरणहरूके के प्रष्ट पार्छ भने, यी एप र वेबसाइटहरूको यो नयाँ विधा विश्वव्यापी रूपमा फैलिरहेको हुन् सक्छ।
यसले मानिसलाई किन खुसी दिन्छ?
डोपामाइन एक शक्तिशाली न्यूरोट्रान्समिटर र न्यूरोमोड्युलेटर दुवै हो, जसले रासायनिक सन्देशहरू पुर्याउँछ र तपाईंको मस्तिष्कमा परिवर्तनहरू ल्याउँछ।डोपामाइनले धेरै महत्त्वपूर्ण भूमिकाहरू खेल्छ, जसमा हामीलाई लक्ष्यहरूतर्फ प्रेरित गर्ने र कुन कार्यहरूले फाइदाजनक नतिजा दिन्छन् भनेर मस्तिष्कलाई सिक्न मद्दत गर्ने कुराहरू पर्छन्।
यी नयाँ डोपामाइन प्लेटफर्महरू मार्फत, प्रयोगकर्ताहरूमा उत्सुकता जगाउँछ, मैले केहि राम्रो चिज पाउन सक्छु भन्ने बनाउँछ। मेरो रोजाइमा मेरो नियन्त्रण छ भन्ने भ्रम दिलाउँछ। र, अझ महत्त्वपूर्ण कुरा, “मेरो अर्डर भयो! मैले यति मूल्यको सामान अर्डर गरे’ भन्ने कथित सन्तुष्टि पनि प्रदान गर्छ। वास्तविक एप वा वेबसाइटको तुलनामा यो प्रक्रियामा हराइरहेको एउटै मात्र तत्व भनेको उपभोग हो। मैले यति मूल्यको यो सामान/वस्तु प्राप्त प्राप्त गर्न सके भन्ने मात्र हो।
यी पछिल्ला एपहरू आउनुअघि नै, केही मानिसहरूले के बुझिसकेका थिए भने उनीहरूले कुनै सामान नै नकिनी केवल ‘विश लिस्ट’ बनाएर वा सामान कार्टमा भरेर, र पछि त्यसलाई हटाएर पनि ‘रिटेल थेरापी’ (खुदरा किनमेलबाट पाइने आनन्द) जस्तै खुसी पाउन सक्छन्। तपाईं केही निर्माण नै नगरी, आफ्नो सपनाको घरको ‘पिन्टरेस्ट बोर्ड’ बनाएर पनि उस्तै अनुभूतिको नक्कल गर्न सक्नुहुन्छ। वा विभिन्न निःशुल्क वा भुक्तानी गरिने ट्राभल प्लानिङ एप र वेबसाइटहरू प्रयोग गरेर आफ्नो सपनाको छुट्टीको कल्पना गर्न सक्नुहुन्छ।
नक्कली खाना अर्डर गर्ने, किनमेल गर्ने वा ‘भर्चुअल चुरोटसँग रमाइलो गर्ने’ अभिनय गर्दा केकस्ता नकारात्मक असर हुन सक्छन्?
यी डोपामाइन एप र वेबसाइटहरू तुलनात्मक रूपमा नयाँ छन्, त्यसैले उनीहरूले गेटवे व्यवहारको रूपमा कत्तिको काम गर्न सक्छन् भन्नेबारे अहिलेसम्म कुनै विशिष्ट अनुसन्धान छैन। ‘गेटवे व्यवहार’ भनेको एउटा यस्तो प्रारम्भिक व्यवहार हो जसले पछि अन्य व्यवहारहरू हुने सम्भावनालाई बढाउँछ।
यद्यपि, यो एउटा यस्तो क्षेत्र हो जसको जुवा र गेमिङ जस्ता अन्य क्षेत्रहरूमा पहिले नै राम्रोसँग अध्ययन भइसकेको छ। ती विगतका अनुसन्धानहरूले सम्भावित चिन्ताहरू उठाएका छन् – विशेष गरी यी डोपामाइन एपहरूमा कुनै न कुनै स्तरको ‘गेमिफिकेशन’ समावेश हुन्छिन् कि भन्ने।
उदाहरणका लागि, सन् २०१४ को एक अध्ययनले सोसल क्यासिनो खेलहरू खेल्ने तर वास्तविक पैसाले कहिल्यै अनलाइन जुवा नखेलेका ४०९ जना मानिसहरूलाई पछ्याएको थियो। छ महिनापछि, लगभग २६% मानिसहरू वास्तविक अनलाइन जुवातर्फ लागेका थिए।
सन् २०१६ मा ५२१ जना सोसल क्यासिनो प्रयोगकर्ताहरूमा गरिएको अध्ययनले १९% ले सोसल क्यासिनो गेमिङको प्रत्यक्ष नतिजाको रूपमा वास्तविक पैसाका लागि जुवा खेलेको बताएका थिए। र सन् २०१८ मा ११ देखि १९ वर्ष उमेरका १,१७८ जना जर्मन किशोरकिशोरीहरूमा गरिएको अध्ययनले काल्पनिक/नक्कली जुवामा संलग्नताले एक वर्षपछि वास्तविक पैसाको जुवा खेल्ने कुराको भविष्यवाणी गरेको भेटिएको थियो।
यसका नकारात्मक असरहरू के-के हुन सक्छन्?
एउटा पुरानो भनाइ सम्झनुहोस्, “सित्तैमा केही पनि पाइँदैन।”
यी एप र वेबसाइटहरू रमाइलो र निःशुल्क हुन सक्छन्, तर तपाईंका नक्कली रोजाइहरू पनि विज्ञापनदाताहरूका लागि अत्यन्तै मूल्यवान हुन सक्छन्। निःशुल्क एपहरू आफ्ना सामग्रीहरू निःशुल्क बनाउन प्रायः विज्ञापनहरूमा निर्भर हुन्छन्। आफ्ना विज्ञापनहरू देखाउन गुगल एडसेन्स प्रयोग गर्ने एप वा वेबसाइटहरूले कुकीज प्रयोग गर्छन्, जुन तपाईंको अनलाइन ब्राउजिङ बानीहरू ट्र्याक गर्न तपाईंको ब्राउजरमा भण्डारण गरिने साना टेक्स्ट फाइलहरू हुन्।
गुगल लगायतका तेस्रो-पक्ष विज्ञापनदाताहरूले तपाईंलाई अझ बढी लक्षित (targeted) विज्ञापनहरू देखाउन तपाईंको विवरण प्रयोग गर्न सक्छन्। (यदि तपाईंले साना अक्षरमा लेखिएका सर्तहरू पढ्नुभयो भने, साइटहरूले व्यक्तिगत विज्ञापनहरूबाट कसरी हट्ने भन्ने कुरा उल्लेख गरेका हुन्छन्।)
यदि तपाईंले त्यो नक्कली ज्याकेट किन्नुभयो, वा नक्कली चन्द्रमा अर्डर गर्नुभयो भने, पछि वास्तविक कुराका लागि थप विज्ञापनहरू देख्न थाल्नुभयो भने आश्चर्य नमान्नुहोस्। यी एपहरू पैसा नतिरी दिमागलाई क्षणिक खुसी दिने माध्यम हुन्। तर, यसले पछि वास्तविक पैसा खर्च गराउने र तपाईंको रोजाइ अनुसारका विज्ञापन देखाएर सामान किन्न उक्साउने खतरा रहन्छ। यसैले सचेत रहनुहोस।