तस्करीको लाइन खुलाए बापत डिआइजीलाई ‘मासिक घुस’ : तस्करसँग क्वार्टरमै वार्ता !

diyopost.com
दियो पोस्ट  शुक्रबार, साउन २०, २०७९ | १७:१४:१९

झापा । नेपाल भारत सिमा नाका झापाको भद्रपुर जोड्ने केतना नाकाबाट अवैध रुपमा तस्करीको लाइन खुलाएबापत डिआइजी कमल गिरीले लाखौँ रुपैयाँ बुझ्ने गरेको खुलाशा भएको छ ।

सशस्त्र प्रहरीको खुटामुनी क्याम्पकै आडबाट तस्करी हुँदा प्रदेश १ स्थित झापाको चन्द्रनिगाहपुर स्थित गण नम्बर १ का डिआइजी रहेका गिरीकै कारण सो क्षेत्रमा तस्करी मौलाएको छ ।

स्थानियका अनुसार केतनामा जनपथ तर्फ प्रहरी सहायक निरिक्षकको कमाण्डमा चौकी समेत छ । तर, चौकीले पनि तस्करीको रुट खुलाएका छन् । स्रोतका अनुसार सशस्त्र प्रहरीका असई रमेश कुँवरले डिआइजी गिरीलाई मासिक ४ लाख रुपैयाँ बुझाउने गरेका छन् ।
डिआइजी गिरीको समलग्नतामा झापाको काडभिट्टाबाट चार किलाेमिटर दूरीमा रहेकाे  जोरसिमल लगायतको नाकाबाट खुलमखुल्ला कपडा लगायत भंसार छलीको सामान ल्याइने गरेको छ । त्यस्तै झापास्थित सशस्त्र प्रहरीका एसपी प्रतिकसिंह कार्कीले समेत मासिक रकम बुझ्दै आएका छन् । घुमुवा असई कुँवरले एसपी कार्कीलाई भने डिआइजीलाई भन्दा २ लाख रुपैयाँ कम बुझाउने गरेको निकटस्थहरु नाम नबताउने सर्तमा बताए । तस्करीको लाइन खुलाउने असई कुँवरले भने मासिक एक देखि डेढ लाख रुपैयाँ सम्म तस्करहरुबाट बुझ्ने गरेको स्रोतको दाबी छ ।
त्यस्तै धुलाबारी र चारआली क्षेत्रमा काठ तस्करीको काम गर्दैै आएका उमेश उप्रेतिले पनि डिआइजी गिरीलाई मासिक ५ लाख रुपैयाँ बुझाउँदै आएका छन् । डिआइजी गिरीले क्वार्टरमै तस्करहरुलाई बोलाएर भेट्ने गरेको सशस्त्रकै अधिकारीहरु बताउँछन् । केही तस्करहरुलाई त डिआइजी गिरीले आफ्नो सम्पत्ति सुद्धिकरण विभागका डिजी प्रेम कुमार भट्टराईसँग खास सम्बन्ध रहेको भन्दै सम्पत्ति सुद्धिकरणको मुद्दा लागे उन्मुक्ति दिलाइदिने समेत बताउँदै आएका छन् ।

गिरिकै निमन्त्रणमा सम्पत्ति सुद्धिकरणका डिजी भट्टराई केही महिनाअघि सुनसरीस्थित डिआइजीको क्वार्टरमै पुगेको समेत एक जवानले बताए । गिरीले ईन्सपेक्टरहरुको बेस चेन्ज गर्दा समेत रकमको मोलमोलाई गर्ने गरेको अर्का एक इन्सपेक्टरको दाबी छ । तत्कालिन प्रधानमन्त्री केपी ओलीको निगाहमा एक नम्बर डिआइजीमा बढुवा भएका उनी यतिबेला भने दल बदलेर संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको शरणमा पुगेका छन् । कार्की मार्फत उनले बालुवाटारसम्म निकट हुने कोशिस गरेको बताइन्छ ।

 

डिआइजीका विशेष घुमुवा कुँवर भने यसअघि सोझा राजवंशीको घरमा हतियार राखेर फसाएको अभियोगमा पक्राउ परेका विवादित पात्र हुन् ।

सम्बन्धित खबर