काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पर्यटन क्षेत्रमा व्यप्त फेक रेस्क्यु धन्दा गर्नेहरु विरुद्ध जारी राखेको अनुसन्धानको पहिलो प्रतिवेदन पेश गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयमा हाल पक्राउ परेका १० जना र फरार रहेका २३ जना विरुद्ध १२ सय ४३ पृष्ठको अनुसन्धान प्रतिवेदन पेश गरेको हो ।
२०८२ माघ ११ गते दर्ता भएको जाहेरीको आधारमा सीआइबीले पक्राउ परेका अभियुक्त र फरार रहेका अभियुक्तहरुलाई मुलुकी अपराध संहिताको राष्ट्रहित प्रतिकुल कसुर, आपराधिक लाभ, लिखत सम्बन्धी कसुर र संगठित अपराध सहितको (एकीकृत कसुर)मा मुद्दा लगाउन सिफारिस गरेको छ । उनीहरुबाट ९४ करोड ८४ लाख, ९७ हजार ३ सय ९१ रुपैयाँ अर्थात २९ लाख ९८ हजार ८ सय २३ डलर र १४ हजार ५ सय युरो बिगो कायम गर्न सिफारिस गरेको छ ।
सीआइबी स्रोतका अनुसार फेक रेस्क्यु धन्दामा संलग्न रहेको आरोपमा १६ वटा ट्रेकिङ तथा ट्राभल्स कम्पनि, ५ वटा रेस्क्यु कम्पनि, ३ वटा अस्पताल, ४ वटा हेलिकोप्टर कम्पनि, ३ जना विदेशी बीमा कम्पनिका नेपाली एजेन्ट र १ जना गाइडलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरिएको छ । केही प्रतिवादीहरु धेरै कम्पनिमा आवद्ध भएको देखिएको र हाल जम्मा ३३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न सिफारिस गरिएको छ ।
ट्रेकिङ कम्पनिहरुले पर्यटकलाई बीमा गर्नका लागि अनुकुल कम्पनि छनौट गर्ने, पर्यटकको आइटिनरी तयार गर्ने, गाइडको व्यवस्थापन गर्ने र रेस्क्यु कम्पनिसँग समन्वय गरेर फेक रेस्क्यु धन्दामा संलग्न भएका थिए । उनीहरुले रेस्क्यु कम्पनि र अस्पतालसँग अवैध रुपमा कमिशन लिएर आपारधिक लाभ (किकब्याक स्किम) लिने गरेको सीआइबीको अनुसन्धानले देखाएको छ ।
त्यस्तै गाइडहरुले पर्यटकलाई पदयात्राका लागि गन्तव्यसम्म लैजाने, म्यानुपुलेटेड अरजेन्सी (बाध्य बनाउने) तयार गरी पर्यटकलाई हेलिकोप्टरका लागि मगाउन बाध्य बनाउने र न्युनतम सावधानी पनि नअपनाई हेलिकोप्टरका लागि कन्भिन्स गर्ने गरेको अनुसन्धानले देखाएको छ । गाइडहरुले हेलिकोप्टरमा फर्कदा अर्को समुहसँग पदयात्रा जान पाइने र दैनिक ज्यालापनि बच्ने र कमिसन पनि पाइने लोभमा गाइडहरु परेको देखिन्छ ।
रेस्क्यु कम्पनिहरुले रेस्क्यु गर्ने पर्यटको बीमा नीतिको पेपर लिने, पर्यटकहरुलाई हेलिलिफुट गरी सम्बन्धित अस्पताल पठाउने, बीमा कमपनिसँग जिओपी लिने र बीमा दाबी गर्ने भूमिका खेलेका थिए । रेस्क्यु कम्पनिहरुले हेलिकोप्टरको लागेको खर्च कटाई बीमा बापनको रकम केही प्रतिशत ट्रेकिङ कम्पनिलाई दिई बाँकी आपराधिक लाभ अबैध कमिशन लिने गरेको अनुसन्धानमा देखिएको छ ।
हेलिकोप्टर कम्पनिहरुले हेलिलिफ्ट गरी पर्यटकलाई ल्याउने, प्यासेन्जर म्यानिफेस्टमा किर्ते गरी गराई रेस्क्यु कम्पनिलाई पठाउने गरेको खुलेको छ । ती कम्पनिहरुले रेस्क्यु कम्पनिसँग मिलेमतो गरी आफ्नो नियमित फ्लाइटको व्यापार बढाउने काम गरेको अनुसन्धानमा देखिएको छ ।
अस्पतालहरुले भने स्वास्थ्य प्रोटोकल भन्दा बढी बीमा दाबीका लागि विरामी भर्ना गर्ने, भर्ना गरिएको पर्यटकहरु होटल गई बस्ने वा घुम्न जाने र पछि डिस्चार्ज लिन आउने, नक्कली स्वास्थ्य रिपोर्ट बनाई दाबी गर्ने, बढीबढाई बिल तयार गरी स्वास्थ्य बीमा दाबी लिने, रेस्क्यु कम्पनी र ट्रेकिङ कम्पनिसँग बाँडफाँड गरी लाभ लिने गरेको सीआइबीको अनुसन्धानमा देखिएको छ । अस्पतालहरुले स्वास्थ्य बीमा दाबी गरेर अपराधिक लाभ लिएको देखिन्छ ।
रेस्क्यु कम्पनिहरुले लागत कटाएर ७० प्रतिशत रकम बाँडफाँड गर्ने गरेको अनुसन्धानमा देखिएको छ ।
चार रेस्क्यु कम्पनि विरुद्ध मुद्दा चलाउन सिफारिस
सीआइबीले फरार रहेका २३ जनासहित १० जना विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । एभरेष्ट एक्सपेरियन्स एसिस्ट, माउन्टेन रेस्क्यु सर्भिस, नेपाल चार्टर सर्भिस र हेलि अन कलका संचालक तथा कम्पनि विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।
चर हेलिकोप्टर कम्पनि कुन कुन ?
त्यस्तै अल्टिच्युड एयर, एयर डाइनेस्टी, माउन्टेन हेलिकोप्टर र बेसक्याम्प हेलिकोप्टर तथा मनाङ एर विरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ ।
तीन अस्पतालमाथि मुद्दा चलाउन सिफारिस
सीआइबीले लाजिम्पाटस्थित श्रीद्धि अन्तर्राष्ट्रिय अस्पताल, बत्तिसपुतलीस्थत स्वाकन अस्पताल र सोह्रखुट्टेस्थित ईरा अस्पताललाई मुद्दा चलाउन सिफारिस गरेको छ ।
२१ भन्दा बढी ट्रेकिङ कम्पनि
फेक रेस्क्युमा संलग्न २१ ट्रेकिङ तथा ट्राभल्सलाई मुद्दा चलाउन सिफारिस भएको छ । मास्टर हिमालय ट्रेक्स एण्ड एक्सपिडिसन, डाइनेस्टि एसिस्टेन्स, म्याजिक हिमालय ट्रेक्स एण्ड एक्सपिडिसन,स्नो आइस ट्राभल्स एण्ड टुर, नेपाल हाइकिङ एडभेञ्चर्स, प्रिसियस ट्रभन्लस एण्ड टुर्स, नेपाल ट्रेक एडभेन्चर्स एण्ड एक्सपिडिसन, रोयल होलिडेज एडभेञ्चर्स प्रा.ली, स्प्रिच्युअल एक्सकर्सन, फस्ट एसिस्टेन्स नेपाल प्रा.ली, एक्साइटिङ नेपाल प्रा.ली, एडभेन्चर्स मास्टर ट्रेक्स एण्ड एक्सपिडिसन, ईम्याजिन नेपाल एडभेञ्चर्स, हेलि हब नेपाल प्रा.ली, पानारोमा हिमालय ट्रकिङ, नेपाल माउन्टेन एसिस्टेन्स प्रा.ली र आविस्कार ट्राभल्स कम्पनि र तीनका संचालक विरुद्ध मुद्दा चलाउन सिफारिस भएको छ ।
चार बीमा कम्पनिका नेपाली एजेन्ट विरुद्ध मुद्दा चलाउन सिफारिस
सीआइबीले फेक रेस्क्यु धन्दामा संलग्न चार विदेशी बीमा कम्पनिका नेपाली एजेन्टलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ । जुसमा कुमार भण्डारी, श्याम सुन्दर कँडेल, जयराम रिमाल र रामकुमार फुयाँल विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।
सीआइबीका प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) शिव कुमार श्रेष्ठका अनुसार फेक रेस्क्यु धन्दामा संलग्नहरुले नेपाल घुम्न आउने अमेरिकन राहदानी बाहक भुटानी शरणार्थीलाई नेपालमा घुमघाम गराउने र नक्कली उद्दार गरेको समेत पाइएको छ । त्यस्ता कार्यमा संलग्नहरुलाई अपराधिक कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ । यो धन्दामा एउटै व्यक्तिको ट्रेकिङ कम्पनि, हेलिकोप्टर कम्पनि, रेस्क्यु कम्पनि र अस्पताल समेत रहेको पाइएको र उनीहरुलाई मुद्दा चलाउन सिफारिस गरिएको प्रवक्ता श्रेष्ठले दियोपोस्टलाई बताए ।
श्रेष्ठका अनुसार सीआइबीले निकै मेहनत गरेर निकै सानो अंश मात्रै अनुसन्धान टुंग्याएको छ । बृहत अनुसन्धान भने अझै बाँकी रहेको र अनुसन्धान प्रक्रिया जारी रहने उनले बताए ।
सीआइबीले गत माघ ११ गते आइतबार साढे दुई महिनाको लामो अनुसन्धानपछि तीनवटा कम्पनीसँग सम्बन्धित ६ जनालाई पक्राउ गरेर अपरेशन थालेको थियो । नेपाल चार्टर सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे तथा सञ्चालक एवं प्रबन्धक सुभाष केसी पक्राउ परेका थिए ।
त्यस लगत्तै सीआइबीले २५ माघमा श्रीद्धि अस्पतालका मालिक डा. गिर्वाणराज तिमिल्सिनालाई पनि पक्राउ गरि अनुसन्धान थालेको थियो । सीआइबीले फागुन १३ गते विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष समेत रहेका माउन्टेन हेलिकोप्टर सर्भिसका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर सिंहलाई पक्राउ गरेको थियो । उनले विचौलियाको काम गरेको समेत सीआइबीको आरोप छ । उनीसँगै रोयल होलिडेज एडभेन्चर्स एण्ड ट्राभल्स कम्पनिका संचालक सन्दिप तिवारीलाई पक्राउ गरेको थियो ।
गत फागुन २७ गते सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका १ घर भएका पनारोमा हिमालय ट्रेकिङका संचालक पासाङ शेर्पालाई पक्राउ गरेको थियो । पछिल्लो समय ट्रेकिङ व्यावसायीलाई समेत धमाधम पक्राउ गर्न थालेको सीआइबीले थप केही व्यक्ति खोजी रहेको छ ।