काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय सोलुखुम्बुका पूर्व प्रमुख केशबहादुर कार्कीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।
शुक्रबार आयोगले सोलुखुम्बुस्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख (स्वर्गीय)कार्कीसहित खरिदार तेजनाथ पौडेल र खुम्बु पासाङल्हामु मनमाया नेपालीविरुद्ध विशेष अदालत, काठमाडौँमा करिब २० लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तीन जनाविरुद्ध १९ लाख ९० हजार ५७५ रुपैयाँ बिगो माग गरिएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका-२ का जग्गाधनी सुवोध नेपालीले दिएको उजुरीका आधारमा गरिएको अनुसन्धानबाट सरकारी सम्पत्तिको हिनामिना भएको पुष्टि भएपछि आयोगले कारबाही अघि बढाएको हो।
अनुसन्धानका क्रममा उनीहरूले पदको दुरुपयोग गरी सरकारी कोषमा क्षति पुर्याउनुका साथै गैरकानुनी लाभ लिएको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।