काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का अध्यक्ष परिषद्का सदस्य तथा पूर्वमन्त्री सुदन किरातीले पार्टी पदबाट राजीनामा दिएका छन्। पार्टी स्रोतका अनुसार किरातीले पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै आफ्नो पदबाट अलग हुने निर्णय गरेका हुन्।
चुनावी परिणाम र आन्तरिक मतभेदप्रति असन्तुष्टि जनाउँदै उनले राजिनामा दिएको स्रोतको भनाई छ । यद्यपि उनले सार्वजनिक रूपमा विस्तृत कारणसहित औपचारिक वक्तव्य भने जारी गरिसकेका छैनन्।
प्राप्त जानकारीअनुसार उनको राजीनामाको प्रमुख कारणमा चुनावी नतिजाप्रति असन्तुष्टि, पार्टीभित्रको निर्णय प्रक्रियामा मतभेद, तथा रणनीतिक दिशाबारे असहमति रहेका छन्। पार्टीभित्र पछिल्लो समय नेतृत्व शैली र आगामी कार्यदिशा सम्बन्धी छलफलमा मतभेद बढ्दै गएको बताइएको छ।
यसअघि पनि किरातीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गर्दै पार्टीको आधिकारिक लाइनभन्दा फरक धारणा सार्वजनिक गरेका थिए। त्यसलाई लिएर उनी पार्टीभित्र स्वतन्त्र र आलोचनात्मक आवाजका रूपमा चिनिँदै आएका थिए।
प्रलोपा नेतृत्वले भने किरातीको राजीनामाबारे औपचारिक प्रतिक्रिया दिइसकेको छैन। पार्टीका अन्य नेताहरूले आन्तरिक छलफलमार्फत विषय टुंग्याउने बताएका छन्।
किरातीको राजीनामाले प्रलोपा भित्रको आन्तरिक एकता र आगामी रणनीतिमा प्रभाव पार्न सक्ने देखिएको छ।