काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग औपचारिक रूपमा माफी मागेका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सदियौँदेखि हुँदै आएको विभेद र अन्यायका लागि हात जोडेर माफी मागेका हुन्।
संसद्मा बोल्दै उनले दलित समुदायले भोग्दै आएको विभेदलाई ‘सामान्य अन्याय मात्र नभई संगठित अपराध’ को संज्ञा दिए। उनले राज्य र समाज दुवैको तर्फबाट यस्तो ऐतिहासिक अन्याय भएको स्वीकार गर्दै त्यसका लागि सामूहिक रूपमा क्षमायाचना आवश्यक रहेको बताए।
लामिछानेले भने, ‘अब कुनै पनि नेपाली नागरिकले जातका आधारमा अपमानित महसुस गर्न नपर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको छ।’ उनले जातीय विभेद अन्त्य गर्दै समानता र सामाजिक न्याय सुनिश्चित गर्ने दिशामा ठोस कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले विगतमा सीप र श्रमका आधारमा समाजलाई योगदान दिने समुदायलाई नै ‘अछूत’ बनाइएको भन्दै त्यसप्रति गम्भीर आत्मालोचना आवश्यक रहेको धारणा राखे। साथै, माफी केवल औपचारिकतामा सीमित नभई न्यायमार्फत यसको मूल्य चुकाउनुपर्नेमा उनले जोड दिए।
लामिछानेको यो कदमलाई नेपालमा सामाजिक न्याय र समावेशिताको बहसलाई थप सशक्त बनाउने प्रयासका रूपमा हेरिएको छ। दलित समुदायमाथि भएको ऐतिहासिक विभेदप्रति राज्यस्तरबाट जिम्मेवारी स्वीकार गर्दै गरिएको यस्तो अभिव्यक्तिले आगामी नीति तथा व्यवहारमा परिवर्तनको अपेक्षा बढाएको छ।