सगरमाथामा पर्यटकलाई विष खुवाइएको हल्ला ‘अकल्पनीय’ र ‘अप्रमाणित’: नेपाल पर्वतारोहण संघ

दियोपोस्ट संवाददाता

काठमाडौं- सगरमाथा आरोहणका क्रममा पर्यटकलाई विष खुवाइएको भनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचारहरूप्रति नेपाल पर्वतारोहण संघ (NMA) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता दाबीहरूलाई ‘अकल्पनीय’ र ‘अप्रमाणित’ भन्दै खण्डन गरेको हो।

संघका अध्यक्ष आङ फुर्गेल्जे शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दशकौंदेखि पर्वतारोहणमा गौरवशाली विरासत बोकेको नेपालको छवि धुमिल बनाउने गरी यस्ता नकारात्मक रिपोर्टहरू आउनु चिन्ताको विषय हो।” वसन्तकालीन आरोहण सिजनको मुखमा आएका यस्ता खबरले नेपालको विश्वव्यापी प्रतिष्ठा र हजारौँको जीविकोपार्जनमा गम्भीर असर पुऱ्याउने संघको ठहर छ।

“सगरमाथा आरोहणका क्रममा खानामा विष मिसावट गरिएको र ‘डायामोक्स’ (Diamox) को दुरुपयोग भएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका हालैका रिपोर्टहरूप्रति हामी गम्भीर रूपमा चिन्तित छौँ। यस्ता कार्यहरू सबै एक्स्पिडिसन अपरेटरहरू र यी अभियानहरू आयोजना गर्न संलग्न सबैका लागि अकल्पनीय छन्। नेपाल दशकौंदेखि पर्वतारोहणमा गौरवशाली विरासत बोकेको विश्वको अग्रणी एक्स्पिडिसन अपरेटर रहँदै आएको छ। यो विश्वभरका आरोहीहरूका लागि एक भरपर्दो र प्रख्यात गन्तव्य हो, जसले हाम्रो इमानदार, व्यावसायिक र सुरक्षित सेवाहरूमा विश्वास गर्छन्। यदि यस्तो कुनै पनि कार्य प्रमाणित भएमा, हामी नेपाल सरकारलाई कुनै पनि अनैतिक वा अमानवीय अभ्यासहरू विरुद्ध कडा कारबाही गर्न जोडदार आग्रह गर्दछौं”, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “पर्वतारोहण केवल एक उद्योग मात्र नभएर हाम्रो गौरव र पहिचानको प्रतीक पनि हो। यस्ता गलत सूचनालाई समयमै सम्बोधन नगरे यसले समग्र पर्यटन क्षेत्रलाई नै ठूलो हानि पुऱ्याउन सक्छ।”

एनएमएले यदि कुनै पनि सेवा प्रदायकले अनैतिक वा अमानवीय कार्य गरेको प्रमाणित भएमा नेपाल सरकारलाई त्यस्ता व्यक्ति वा संस्थामाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ। साथै, कुनै पनि आरोहीले यात्राका क्रममा समस्या भोगेमा तुरुन्त सम्पर्क अधिकृत (Liaison Officer) वा नेपाल प्रहरीमा उजुरी दिन समेत आग्रह गरिएको छ।

संघले हेलिकप्टर उद्धार र बीमा दाबीमा हुने सम्भावित दुरुपयोग रोक्न सरकारसँग स्पष्ट र पारदर्शी नियमनको माग गरेको छ। “बीमा र उद्धार कार्यको कडा अनुगमन हुनुपर्छ, जसले गर्दा उत्तरदायित्व सुनिश्चित होस् र कसैले पनि प्रणालीको दुरुपयोग गर्न नसकोस्,” विज्ञप्तिमा उल्लेख छ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले पनि एक विज्ञप्ति जारी गर्दै हालसम्मको अनुसन्धानमा पर्यटकलाई ‘विष खुवाइएको’ कुनै पनि तथ्य फेला नपरेको स्पष्ट पारिसकेको छ। सीआईबीले ३२ जना विरुद्ध ‘फेक रेस्क्यु’ को नाममा भएको आर्थिक ठगीको मुद्दा चलाए पनि अन्तर्राष्ट्रिय मिडियाले त्यसलाई ‘विषाक्तता’ (Poisoning) को रङ दिएर अतिरञ्जित बनाएको देखिन्छ।

सम्बन्धित खबर