काठमाडौँ । धनुषाको मिथिला नगरपालिका-१०, लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार प्रहरी निरीक्षक वकिल अधिकारीलाई नियन्त्रणमा लिएको हो।
अख्तियारको कार्यालय बर्दिवासका अनुसार कमला-ढल्केवर-बाग्मती सडक निर्माण अन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग घुस लिँदै गर्दा उनलाई रंगेहात पक्राउ गरिएको हो।
प्रहरी निरीक्षक अधिकारीले विभिन्न बहानामा निर्माणमा प्रयोग हुने सवारी साधन रोकेर अवरोध सिर्जना गर्ने, काममा अनावश्यक दबाब दिने तथा ठेकेदारलाई हैरानी दिने गरेको आरोप छ। सोही क्रममा उनले रकम माग गरेको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
हाल पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान जारी रहेको अख्तियारले जानकारी दिएको छ।